
निर्वाचन लोकतन्त्रको विशेष पर्व र नागरिकले एकसाथ मनाउने उत्सव हो । जहाँ नागरिकले आफ्नो मताधिकार प्रयोग गरेर देशको भाग्य र भविष्य फैसला गर्छन् । निर्वाचनपछिको परिणामले कसैलाई सत्ताको बागडोर सुम्पिन्छ भने कसैलाई प्रतिपक्षको जिम्मेवारी । पछिल्लो समय नेपाली राजनीतिमा एउटा घातक प्रवृत्ति मौलाएको छ ‘आफ्नो पक्षमा आएको मतलाई क्रान्तिकारी र विवेकपूर्ण देख्ने तर प्रतिकूल मतलाई नकारात्मक वा भ्रमित ठान्ने ।’ यो प्रवृत्ति केवल राजनीतिक अहङ्कार मात्र होइन, बरु सिधा रूपमा जनमतको अपमान र लोकतान्त्रिक मूल्यको परिहास हो ।
चुनावमार्फत नागरिकले आफ्नो अधिकार प्रयोग गर्दै राज्य सञ्चालनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय गर्छन् । यसरी प्राप्त हुने परिणामलाई जनमत भनिन्छ । जनमत कुनै दल, नेता वा समूहको निजी सम्पत्ति होइन; यो सम्पूर्ण नागरिकको सामूहिक अभिव्यक्ति हो । चुनावपछि प्राप्त परिणामप्रति देखाइने राजनीतिक दलहरूको व्यवहार लोकतन्त्रको संस्कार र परिपक्वताको महत्वपूर्ण सूचक मानिन्छ ।
चुनाव परिणाम सार्वजनिक भएपछि राजनीतिक दलहरू प्रायः दुई प्रकारका प्रतिक्रिया दिँदै आएका देखिन्छन् । आफ्नो पक्षमा आएको मतलाई सकारात्मक, प्रगतिशील र जनताको सही निर्णय भनेर व्याख्या गरिन्छ तर आफ्नो प्रतिकूल आएको मतलाई नकारात्मक, भ्रमित वा गलत भनेर टिप्पणी गर्ने प्रवृत्ति छ । यस्तो प्रवृत्ति लोकतान्त्रिक संस्कारसँग मेल खाने व्यवहार होइन । जनताको निर्णयलाई आफ्नो अनुकूल हुँदा मात्र स्वीकार गर्ने र प्रतिकूल हुँदा अवमूल्यन गर्ने प्रवृत्तिले अन्ततः जनमतको गरिमा नै कमजोर बनाउँछ । जनमतलाई लिएर जय पराजय दुवै भोगेका दलहरूले अपमान गरेका छन् । क्षेत्र भूगोल र आफूले पाएको मतलाई अवमूल्यन गर्ने प्रयास गरेका छन् । जुन नितान्त गैरजिम्मेवारपन हो ।
लोकतन्त्रमा मत दिने नागरिक समान अधिकार भएका स्वाधीन व्यक्ति हुन् । उनीहरूले आफ्नो अनुभव, अपेक्षा, विचार र विश्वासका आधारमा निर्णय गर्छन् । कुनै पार्टी वा उम्मेदवारको पक्षमा गएको मतलाई मात्र सही र अर्को पक्षमा गएको मतलाई गलत भन्नु मूलतः जनताको स्वतन्त्र निर्णयको अवमूल्यन हो । यस्तो टिप्पणीले दीर्घकालीन रूपमा नागरिकमा निराशा, असन्तोष र अविश्वास पैदा गर्न सक्छ। जब नागरिकलाई आफ्नै निर्णयको सम्मान हुँदैन भन्ने अनुभूति हुन्छ, तब लोकतन्त्रप्रतिको भरोसा पनि कमजोर हुँदै जान्छ । लोकतन्त्रमा धेरै मत ल्याउनेले सरकार चलाउँछ र थोरै मत ल्याउनेले खबरदारी गर्छ । थोरै मत पाउनुको अर्थ त्यो विचार वा दल पूर्णतः खारेज भएको होइन, बरु सुधारका लागि जनताले दिएको अवसर हो । प्रत्येक मतमा एक नागरिकको आशा, भरोसा र सपना जोडिएको हुन्छ । मतको सङ्ख्या जतिसुकै भए पनि त्यसको गरिमा र वजन बराबर हुन्छ ।
अनुकूलतामा मात्रै सचेत जनता
राजनीतिक दलहरूले आफूले जित्दा जनतालाई ‘महान र सचेत’ भन्दै प्रशंसाको पुल बाँध्ने गर्छन् । त्यही जनताले जब अर्को पक्षलाई रोज्छन्, तब तिनै नेताहरूले जनता अचेत भएको, प्रलोभनमा परेको वा गलत बाटो रोजेको आरोप लगाउन पछि पर्दैनन् । यो दोहोरो चरित्रले के प्रस्ट पार्छ भने नेताहरूले जनताको विवेकलाई होइन, केवल आफ्नो स्वार्थ र शक्तिलाई मात्र केन्द्रमा राखेका छन् । जनता कसैको ‘भोट बैङ्क’ होइनन्, उनीहरू सार्वभौम निर्णायक हुन् । जनताले आफ्नो निर्णय बदल्न, पुनर्विचार गर्न र कायम राख्न पाउने स्वतन्त्रतालाई जो कसैले पनि उल्याउनु राम्रो होइन ।
जनमतको दार्शनिक पक्ष
लोकतन्त्रमा मतको सङ्ख्याले प्राविधिक जित–हार त तय गर्ला तर मतको मूल्य कहिल्यै सानो वा ठुलो हुँदैन । ठुलो र फराकिलो जनमत पाउनेले आफूले पाएको अभिभारा (जनमत) लाई दम्भको रूपमा होइन, जिम्मेवारीको रूपमा लिनु पर्छ । थोरै मत ल्याउनेले जनमतलाई तिरस्कारको रूपमा होइन, आत्मसमीक्षा र सुधारको सन्देशका रूपमा बुझ्नु पर्छ । थोरै मत पाउनुको अर्थ त्यो विचार वा दल पूर्णतः गलत हुनु होइन । प्रत्येक एक मत पछाडि एक नागरिकको आशा, पीडा र सपना लुकेको हुन्छ । मत परिणामलाई ‘राम्रो’ र ‘नराम्रो’ भनी वर्गीकरण गर्नु नागरिकको हृदयमा चोट पु¥याउनु हो । हरेक सार्वभौम नागरिकको निर्णयको मत अमूल्य हुन्छ ।
निर्वाचन केवल सत्ता प्राप्तिको प्राविधिक माध्यम मात्र होइन, यो त समाजका विविध विचार र आकाङ्क्षाको समष्टिगत प्रतिविम्ब हो । हाम्रो राजनीतिक परिपाटीमा एउटा ठुलो खाडल छ, विजयी उम्मेदवारले आफूले पाएको मतलाई मात्र वैध ठान्ने र पराजित उम्मेदवारले पाएको मतलाई अर्थहीन मान्ने । यही मानसिकताका कारण निर्वाचित प्रतिनिधि आमजनताप्रति उत्तरदायी हुनुको साटो आफ्नै अहङ्कारको घेरामा खुम्चिने गरेका छन् । मैले जितेँ, अब म जे पनि गर्न पाउँछु भन्ने दम्भ र मैले हारेँ, अब मेरो कुनै जिम्मेवारी छैन भन्ने पलायनवाद यी दुवै प्रवृत्ति जनमतको अपमान हुन् । विजयीको गणित र पराजितको गरिमाले लोकतन्त्र बलियो बन्छ । निर्वाचनको दार्शनिक पक्ष पनि यही हो।
जब दलहरूले जनमतको अपमान गर्छन्, त्यसले नागरिकमा राजनीतिप्रति नै वितृष्णा पैदा गर्छ । हामीले जतिसुकै सोचेर भोट हाले पनि नेताहरूले हाम्रै विवेकमाथि प्रश्न उठाउँछन् भन्ने भावना जागृत भएमा निर्वाचन र लोकतान्त्रिक प्रक्रियाप्रतिको विश्वास धर्मराउन सक्छ । यसले समाजमा असहिष्णुता र धु्रवीकरण मात्र बढाउँछ, जुन समृद्ध राष्ट्रका लागि घातक सिद्ध हुन्छ ।
प्रत्येक मत नैतिक करार
निर्वाचनमा कुनै पनि उम्मेदवारलाई प्राप्त हुने मत केवल कागजको एउटा टुक्रा वा विद्युतीय मेसिनको अङ्क होइन । त्यो त मतदाता र उम्मेदवारबिचको एउटा नैतिक करार वा विजयी हुनेले पाएको मत कार्यान्वयनको म्यान्डेट हो । पराजित हुनेले पाएको मत निष्ठा र विश्वासको नासो हो । जब हामी पराजित उम्मेदवारको मतलाई कम मूल्याङ्कन गर्छौं, तब हामीले ती हजारौँ–लाखौँ नागरिकको आशा र विश्वासलाई पनि उपेक्षा गरिरहेका हुन्छौँ । पराजित उम्मेदवारले पाएको मतले पनि एउटा स्पष्ट सन्देश दिइरहेको हुन्छ । त्यो मत उक्त उम्मेदवारको नीति, उसको नैतिकता र उसले अघि सारेको विधिको शासनप्रतिको प्रतिबद्धतामाथिको विश्वास हो । विजेताले शासन गर्ने वैधानिकता पाए पनि, पराजित उम्मेदवारले पाएको मतले समाजमा अझै पनि यो विचार र निष्ठाको आवश्यकता छ भन्ने तथ्यलाई जीवित राख्छ । विजेताले ती मतहरूलाई सम्मान गर्न सकेन भने, उसले समाजको एउटा ठुलो हिस्साको भावनालाई प्रतिनिधित्व गर्न सक्दैन । नीति, नैतिकता र विधिको कसीमा हरेक नागरिकले आफूले विश्वास गरेको पार्टी र उम्मेदवारलाई मत प्रदान गरेको हुन्छ ।
नयाँ शक्तिको उदय
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशातीत सफलता हासिल गर्दै देशको सबैभन्दा ठुलो दल बनेको छ । प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ पनि उल्लेख्य मत (करिब ५१ लाख ८३ हजार भन्दा बढी) प्राप्त गरी रास्वपा दुई तिहाइको नजिक छ । यसको विपरीत दशकौँदेखि सत्ताको केन्द्रमा रहेका नेपाली कांग्रेस दोस्रो (१७ लाख ५९ हजार केही बढी) नेकपा एमाले तेस्रो स्थानमा खुम्चिएका छन् । नेकपाको पनि स्थिति सबल रहेन ।
धरान उपमहानगरपालिकाको प्रमुखबाट असमयमा राजिनामा दिएर हर्क साम्पाङले खोलेको श्रम संस्कृति पार्टी उदीयमान देखिएको छ। वैकल्पिक शक्तिको नयाँ दाबीसहित आएको कुलमान घिसिङको उज्यालो नेपाल पार्टीका लागि पनि चुनावले नतिजा ल्याउन सकेन । प्रायः पुराना र शीर्ष नेताहरूले आफ्नै सुरक्षित मानिएका क्षेत्रमा पराजय भोगेका छन् । बालेन्द्र (बालेन) शाह र रवि लामिछाने जस्ता व्यक्तिको प्रभावले गर्दा स्वतन्त्र र युवा उम्मेदवारले ठुला सहर मात्र नभई ग्रामीण क्षेत्रमा पनि बलियो पकड बनाएका छन् । काठमाडौँ, ललितपुर र तराईका प्रमुख क्षेत्रमा रास्वपा र युवा उम्मेदवारको वर्चस्व देखियो, जसले परिवर्तनको तीव्र भोकलाई उजागर गरेको छ ।
मतदाताले यसपटक ‘नो नट अगेन’ को नारालाई मतदान केन्द्रसम्म पु¥याएका छन् । पुराना दलहरूको कार्यशैली, भ्रष्टाचार र स्थिर सरकारको अभावप्रति जनताले ब्यालेटमार्फत मौन विद्रोह गरेका हुन् । मधेशकेन्द्रित दल र पहाडका कम्युनिस्ट किल्लामा समेत नयाँ शक्तिको लहर देखिनुले क्षेत्रीय र वैचारिक राजनीतिभन्दा माथि डेलिभरीको राजनीतिले प्राथमिकता पाएको देखिन्छ ।
निष्कर्ष
अन्ततः जनमत लोकतन्त्रको त्यस्तो ऐना हो, जहाँ नागरिकले आवधिक रूपमा दलहरूको नीति र निष्ठाको परीक्षण गर्छन् । २०८२ को निर्वाचन परिणामले परम्परागत राजनीतिक केन्द्र भञ्जन गर्दै परिवर्तनको पक्षमा दिएको सन्देशलाई विजयीले दम्भ र पराजितले आरोपका रूपमा नलिई, जनअपेक्षा सम्बोधन गर्ने साझा अवसरका रूपमा लिनु पर्छ । मतको गणित जस्तोसुकै भए पनि प्रत्येक मतभित्र लुकेको नागरिकको विश्वास र नैतिक करारलाई सम्मान गर्नु नै लोकतन्त्रको वास्तविक गरिमा र सुसंस्कृत राजनीतिक आधार हो । जनमतले दलहरूको फेरि परीक्षा लिएको छ । सो परीक्षा पुनः अर्को निर्वाचनमा परीक्षित हुने छ । जनमतले जहिल्यै राम्रो काम गर्ने अवसरका लागि ढोका थुन्दैन ।गोरखापत्र अनलाइन



