विचारहेड लाइन

कोशीटप्पु–कञ्चनजङ्घा भू–दृश्य जैविक मार्ग (हात्ती करिडोर) ले निम्त्याउन सक्ने दुष्परिणाम : एक छोटो प्रसङ्ग

रमेश दाहाल

उत्तर बंगाल (सिलिगुडी–महानन्दा क्षेत्रसहित) मा पछिल्ला वर्षहरूमा मानव–हात्ती द्वन्द्व उल्लेखनीय रूपमा बढेको छ। वन क्षेत्र खुम्चिनु, तीव्र शहरीकरण, चिया बगानको विस्तार तथा सडकजस्ता भौतिक अवरोधका कारण हात्तीहरू आफ्नो परम्परागत आवागमन मार्गबाट विस्थापित हुँदै मानव बस्तीमा प्रवेश गर्ने घटना बढिरहेका छन्।

सिलिगुडीको चम्पासरी उत्तर, देवीडाँगा, सालबारी, खप्रेल, बागडोग्रा उत्तर, हात्तीघिसा र नक्सलबारी क्षेत्रमा मानव बस्तीको विस्तारसँगै वन्यजन्तु व्यवस्थापन र जनसुरक्षाको चुनौती पनि बढ्दै गएको छ। वन विभागका टोलीहरूले बस्तीमा प्रवेश गरेका हात्तीलाई विभिन्न व्यवस्थापनका उपाय अपनाएर पुनः जंगलतर्फ फर्काउने प्रयास गर्दै आएका छन्। त्यसक्रममा केही हात्तीहरू मेची नदी पार गर्दै नेपालतर्फ प्रवेश गर्ने गरेको देखिन्छ।

यस समस्याको दीर्घकालीन समाधानका लागि भारततर्फका वन तथा वन्यजन्तु सम्बन्धी निकायहरूले हात्तीका परम्परागत आवागमन मार्ग (Elephant Corridors) संरक्षण र पुनर्स्थापनाको अवधारणा अघि सारेका छन्। यस सन्दर्भमा हात्तीले पुस्तौंदेखि प्रयोग गर्दै आएको प्राकृतिक मार्ग पछ्याउने व्यवहारबारे विभिन्न अध्ययन तथा व्याख्याहरू पनि सार्वजनिक हुँदै आएका छन्। त्यसैको निरन्तरतामा सिलिगुडी–महानन्दा क्षेत्रका हात्तीहरू नेपालको कोशीटप्पुसम्म आवतजावत गर्ने सम्भावनाबारे पनि चर्चा हुने गरेको पाइन्छ।

नेपालको झापा क्षेत्रमा समेत हात्तीको आगमनसँग सम्बन्धित विभिन्न धारणा र जनविश्वासहरू समय–समयमा व्यक्त हुने गरेका छन्। यस्ता विषयमा वैज्ञानिक अध्ययन, स्थानीय अनुभव र नीतिगत बहसलाई समान रूपमा महत्त्व दिन आवश्यक देखिन्छ।

हाल कोशीटप्पु–कञ्चनजङ्घा भू–दृश्य जैविक मार्ग (Koshi Tappu–Kanchanjunga Landscape Corridor) सम्बन्धी अवधारणा नेपाल र भारत दुवैतर्फ संरक्षण तथा जैविक विविधताका सन्दर्भमा चर्चाको विषय बनेको छ। यस सम्बन्धमा विभिन्न अन्तरदेशीय छलफल, अनुभव आदानप्रदान तथा संवाद कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन्। यस्ता कार्यक्रमबाट दुवै देशबीच सहकार्य र पारस्परिक समझदारी अझ प्रभावकारी बन्ने अपेक्षा गरिन्छ।

तर, यस्ता योजनाको कार्यान्वयनअघि स्थानीय समुदायको सुरक्षा, जीविकोपार्जन र सामाजिक प्रभावको गहिरो अध्ययन गरिनु आवश्यक छ। विशेषगरी प्रस्तावित मार्गका धेरै वन क्षेत्र खण्डित (Fragmented Forest) प्रकृतिका छन्, जहाँ स्थानीय समुदायले घाँस, दाउरा तथा अन्य दैनिक आवश्यकताका वन स्रोत उपयोग गर्दै आएका छन्। त्यस्ता क्षेत्र ठूलो संख्यामा जंगली हात्तीको स्थायी बासस्थानका रूपमा कत्तिको उपयुक्त हुन्छन् भन्ने विषयमा थप वैज्ञानिक अध्ययन आवश्यक देखिन्छ।

यदि पर्याप्त बासस्थान उपलब्ध भएन भने हात्तीहरू मानव बस्तीमा प्रवेश गर्ने, खेतीबालीमा क्षति पुर्‍याउने तथा मानव–वन्यजन्तु द्वन्द्व बढ्ने सम्भावना रहन सक्छ। त्यसको असर स्थानीय जनजीवन, कृषि र सुरक्षामा पर्न सक्ने भएकाले यस विषयलाई संवेदनशील रूपमा अध्ययन गर्न आवश्यक छ।

यस सन्दर्भमा झापाका बाहुनडाँगी, धुलाबारी (उत्तरी भाग), शान्तिनगर, बुधबारे, धाइजन, चारआली, अर्जुनधारा, झिलझिले, दुधे, सतासीधाम तथा दमक–बेलडाँगी क्षेत्र, साथै मोरङका मधुमल्ला, लेटाङ, केराबारी, बेलबारी (उत्तरी भाग), पथरी–शनिश्चरे (उत्तरी भाग) र कानेपोखरी (उत्तरी भाग) तथा सुनसरीका तरहराको उत्तरी क्षेत्र, धरानको फेदी, बराहक्षेत्र (चतरा), प्रकाशपुर र कुशाहा जस्ता स्थानहरूमा सम्भावित प्रभावबारे पूर्वअध्ययन गरिनु उपयुक्त हुने देखिन्छ।

मानव बसोबास क्षेत्रको मूल उद्देश्य मानव जीवन, सुरक्षा र सम्मानको संरक्षण गर्नु हो। त्यसैले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका क्रममा वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्ने नीति अवलम्बन गरिनुपर्छ। कुनै पनि दीर्घकालीन योजना कार्यान्वयनअघि त्यसका सामाजिक, आर्थिक, वातावरणीय तथा सुरक्षासम्बन्धी प्रभावहरूको विस्तृत मूल्याङ्कन गर्नु आवश्यक हुन्छ।

यसले भविष्यमा सम्भावित समस्या न्यूनीकरण गर्ने भन्दा हामी र हाम्रो सन्ततिहरुलाई अझ ठूलो मानव वन्यजन्तु द्वन्द्वमा नधकेलोस् भन्ने विषय प्रति बेलैमा सम्वद्ध सबैले उचित ध्यान पुर्याउनु उपयुक्त हुन्छ ।

(यो लेखकको निजि विचार हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button