काठमाडौँ, साउन २२ गते । संघीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा पाँच वटा विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
कार्यसूचीअनुसार, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुने छ ।
त्यसैगरी, प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने कार्यसूची छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नुहुने छ।
यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने छ।
त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
गोरखापत्र अनलाइन



