स्वास्थ्य

बालबालिकामा बढ्दो आँखाको समस्या

बालबालिकाको आँखा जाँच गर्नुहुँदै नेत्र विशेषज्ञ डा. विनम लामिछाने । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, भदौ १८ गते । पछिल्लो समय बालबालिकाहरूमा आँखा सम्बन्धी समस्या बढ्दै गएको छ । मोबाइल तथा कम्प्युटरको अत्यधिक प्रयोग, प्रदूषित वातावरण र मौसमलेसमेत बालबालिकाको आँखामा समस्या बढेको पाइएको हो ।

धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)को आयोजना र धौलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा विद्यामन्दिर माध्यामिक विद्यालयमा गरिएको आँखा शिविरमा बालबालिकामा आँखा सम्बन्धी समस्या देखिएको हो ।

विद्यालयमा भएको परीक्षण शिविरमा ९७ जना बालबालिकालाई चस्मा लगाउनुपर्ने देखिएको छ । उनीहरूलाई अस्पतालले चस्मासमेत वितरण गरेको छ ।

अस्पतालका नेत्र विशेषज्ञ डा. विनम लामिछाने, डिआइआरडिसीका हेल्थ असिस्टेन्ट चन्दन शर्मालगायतको टोलीले आँखा परीक्षण गरेको थियो ।

शिविरमा २३ जना बालबालिकालाई पोखरा रिफर गरिएको छ भने ५५ जना बालबालिकामा आँखाको एलर्जीको समस्या रहेको पाइएको छ । त्यसबाहेक अन्य समस्या भएका २५ जना रहेको जनाइएको छ ।

भिडियो गेम, मोबाइल तथा कम्प्युटर लगायतका आधुनिक ग्याजेटको अत्यधिक प्रयोगले बालबालिकामा दृष्टिदोषको समस्या धेरै हुने गरेको डा. लामिछानेले बताउनुभयो । दृष्टि दोषको उपचार समयमै नगरेमा आँखा बिग्रने सम्भावना धेरै हुने उहाँको भनाई छ ।

शिविरमा ७४ जनालाई भने औषधी प्रयोग गर्नुपर्ने भएकोले निशुल्क रुपमा वितरण गरिएको डिआइआरडिसीका कार्यक्रम व्यवस्थापक शालिकराम शर्माले जानकारी दिनुभयो ।

यो समस्या सबै क्षेत्रमा हुनसक्ने भएकोले संस्थागत रूपमा विभिन्न स्थानमा परीक्षणको काम बढाइने शर्माले बताउनुभयो । यसअघि पनि संस्थामार्फत धौलागिरि बहिरा विद्यालय र रामरेखा आधारभूत विद्यालयमा पनि आँखा परीक्षण शिविर गरिएको थियो ।

डिआइआरडिसीले काठेखोला गाउँपालिका, बागलुङ नगरपालिकालगायतका विभिन्न स्थानमा र विद्यालय तहमा पुगेर आँखाको समस्या भएका बालबालिकालाई उपचार गर्ने, आवश्यक औषधी वितरण गर्दै आएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button