खबर

नाम्रुङ खोलामा आएको बाढीले चार घरसहित पुल बगायो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङ खोलामा आएको बाढील । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका

सुलीकोट, गोरखा) भदौ २१ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङखोलामा आएको बाढीले चार घर बगाउनुका साथै नार्बु हुदै ल्हो जाने फलामे पुलसमेत बगाएको छ ।

आइतबार बिहान करिब ३ः३० बजेतिर अचानक खोलामा वाढी आएपछि स्थानीयका चार घर र फलामे पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानियबासीको घर तथा भौतिक संरचनामा क्षति पुगेको भन्ने खबर प्राप्त हुने बित्तिकै इलाका प्रहरी कार्यालय लार्केबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।

प्रारम्भिक विवरण अनुसार बाढीले चुमनुब्री गाउँपालिका–४ नामु्रङका नगु छिरिङ र वर्गीन लामाको कच्ची घर पूर्ण रूपमा बगाएको छ भने लाक्पा भुटी लामा र दोर्जे घ्याल्जेनको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ ।

बाढीले नार्बु हुदै ल्हो जाने फलामको पुलसमेत बगाएपछि स्थानीयको आवतजावतमा समस्या उत्पन्न भएको छ । पुल बगेपछि उक्त क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा गर्न थप जोखिम बढेको छ ।

बाढीले घर बगाएपनि मानवीय क्षति भने भएको छैन । प्रहरी टोलीले घटनास्थलमा पुगेर क्षतिको अवस्था बुझ्ने तथा थप विवरण संकलन गर्ने काम गरिरहेको जनाएको छ । बाढीबाट भएको कुल क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

उत्तरी गोरखामा लगात्तर वर्षाका कारण खोलानालामा पानीको बहाव बढिरहेको अवस्थामा धार्चे, आरुघाट क्षेत्रका नदी किनारमा बसोबास गर्ने तथा खोला आसपासमा जाँदा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले स्थानियबासीलाई आग्रह गरेको छ ।

साथै जोखिम मोलेर आवतजावत नगर्न पनि अनुरोध गरिएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button