मूल खबरहेड लाइन

पहाडबाट निरन्तर धुवाँको मुस्लो, सरकारले अध्ययन टोली पठाउने

नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर–६ प्लेगास्थित घाँगी भिरबाट धुवाँ निस्किइरहेको दृश्य । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, भदौ २६ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर–६ प्लेगास्थित घाँगी भिरबाट निरन्तर बारुदकोजस्तो गन्ध आउने धुवाँ निस्किइरहेको छ । प्लेगा गाउँबाट करिब पाँच सय मिटर दक्षिण पश्चिममा रहेको घाँगी भिरबाट निरन्तर धुँवाको मुस्लो निस्किइरहेको छ ।

लामो समयदेखि यसरी धुवाँ निस्कन थालेपछि स्थानीय त्रसित भएका छन् भने यो विषय संसददेखि सरकारसम्म पुगेको छ । जिल्ला प्रहरी कार्यालयले पनि त्यसको अनुगमन गरिसकेको छ ।

प्रहरी टोलीले लामो समयदेखि धुवाँ निस्किरहेको र त्यसको गन्ध बारुदकोजस्तो भएको निष्कर्ष निकालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

‘‘हामीले निरीक्षण गर्‍यौँ, जमिन भित्रबाट बारुदकोजस्तो गन्ध आउने धुवाँ लगातार आइरहेको छ,’’ प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, ‘‘त्यसको कारण के हो भन्ने हामीलाई पनि थाहा भएन, यो हाम्रो क्षेत्राधिकारभन्दा बाहिरको कुरा हो ।’’

हुप्सेकोट ६ का वडाध्यक्ष छमबहादुर सोमै मगरले १५ वर्षअघि पनि यस्तै धुवाँ आउने गरेको र एक डेढ वर्षपछि आफैँ हराएको बताउनुभयो । तर अहिले पुनः त्यस्तै समस्या देखिएको उहाँको भनाइ छ । जंगलको बिचमा सानो पहिरो झरेको भए पनि ठुलो पहिरो नगएको मगरले बताउनुभयो ।

पहिरो गएको स्थानबाट करिब एक किलोमिटर उत्तरतर्फ प्लेगामा ३५ घरधुरी रहेको मानव बस्ती छ । गन्ध आउने क्रम नरोकिएपछि जमिनमुनी ग्यास रहेको हुन सक्ने भएकाले विष्फोट हुने हो कि भन्ने चिन्ता बढेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो ।

‘‘यहाँको यो समस्याका बारेमा हामीलाई पनि पटक–पटक जानकारी गराइएको थियो तर जाडोमा कुहिरो र हिउँदमा डढेलो लागेको हुन सक्ने भन्दै चुप लागेर बस्यौं, पछिल्लो पटकको अनुगमनले त्यो होइन रहेछ भन्ने पुष्टि भयो,’’ अध्यक्ष पाण्डेले भन्नुभयो ।

सरकारले अध्ययन टोली पठाउने

भिरबाट निरन्तर बारुदकोजस्तो गन्ध आउने धुवाँ निस्कन थालेपछि यो विषय संसददेखि सरकारसम्म पुगेको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नवलपुर–१ का सांसद राजन गौतमले यसलाई असामान्य घटना भएको बताउनुभएको छ ।

सांसद गौतमले प्रकृतिले हामीलाई केही संकेत दिएको भन्दै सरकारले तत्काल भूगर्भविद, ग्यास रसायस विज्ञ, विपत् व्यवस्थापन विज्ञसहितको टोली हुप्सेकोट पठाएर अध्ययन गर्नु पर्ने माग गर्नुभयो ।

त्यसलगत्तै सरकारले अध्ययन टोली पठाउने बताएको छ । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेलाई फोन गरेर अध्ययन टोली पठाउने बताएको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

‘‘मन्त्रीज्यूले फोन गरेर गाउँपालिकाबाट अध्ययन गर्न माग गरिएको पत्र र भिडियोहरू पठाउनुस्, म अध्ययन टोली पठाउँछु भन्नुभएको छ,’’ अध्यक्ष पाण्डेले भन्नुभयो, ‘‘त्यही अनुसार हामीले सबै डकुमेन्ट पठाएका छौं ।’’

खानी तथा भूगर्भ विभागले पनि यस विषयमा अध्ययन गरेर मात्र भन्न सकिने बताएको छ । विभागका उपमहानिर्देशक डा. गणेशनाथ तिवारीले स्थानीय तहबाट विस्तृत अध्ययनका लागि अनुरोध गरिएमा आफूहरू अध्ययनका लागि आउन तयार भएको बताउनुभयो । लामो समयदेखि एउटै प्रकृतिको घटना भएकाले खानीसँग सम्बन्धित विषय हुन सक्ने डा. तिवारीको भनाइ छ ।गोरखापत्र अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button