सिलगढीमा चार्टर्ड एकाउन्टेन्टको अपहरण
सिलगढी : सिलगढीमा एकजना चार्टर्ड एकाउन्टेन्टको अपहरण भएको घटना प्रकाशमा आएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार अपहरणकारीहरूले फिरौतीको लागि परिवारका सदस्यहरूलाई फोन मार्फत् सम्पर्क गरे। सिलगढी थाना सूत्रअनुसार अपहरण भएका चार्टर्ड एकाउन्टेन्ट सिलगढीको पञ्जाबीपाड़ा निवासी हुन्। हिजो मंगलबार तिनी घरबाट निस्केपछि परिवारका सदस्यहरूसित तिनको सम्पर्क हुन सकेको थिए। उक्त घटनाको जानकारी पाएपछि बुधबार दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकार एवम् पार्षद मानिक दे अपहृत चार्टर्ड एकाउटेन्टका परिवारका सदस्यहरूसित भेट गर्न तिनको निवासमा पुगेका थिए। अर्कोतिर, उक्त घटनालाई लिएर सिलगढी पुलिस थाना अनि डिटेक्टिभ डिपार्टमेन्टले घटनाको जाँच शुरू गरेको बताइएको छ।

हिंसात्मक घटनाको डरले एनबीएसटीसी-का चालकहरूले लगाए हेलमेट
सिलगढी : श्रमिक संगठनहरूले बोलाएको भारत बन्द अवधि आज उत्तरबंगाल राज्य परिवहन निगम (एनबीएसटीसी)-का अधिकारीहरूले तिनको बन्दको चालकहरूलाई अनिवार्य रूपमा बस चलाउँदा हेलमेट लगाउने निर्देश दिएको छ। बन्द अवधि कुनै पनि प्रकारको घटना हुनसक्ने कुरालाई ध्यानमा राखेर यस प्रकारको पदक्षेप लिएको एनबीएसटीसी अधिकारीले जनाएको छ। यसैले गर्दा आज बिहान सिलगढीको तेनजिङ नोर्गे बस स्टेसन परिसरमा एनबीएसटीसी बसका चालकहरूलाई हेलमेट लगाएर वाहन चलाएको अनौठो दृश्य देखियो।

दार्जिलिङ पहाडमा बन्दको प्रभाव परेन
दार्जिलिङ : विभिन्न श्रमिक संगठनहरूले आज बोलाएको भारत बन्दको यता दार्जिलिङ पहाड क्षेत्रमा प्रभाव नपरेको देखियो। बन्दको दिन आज बिहानैदेखि दार्जिलिङ सहरको सडकहरूमा वाहनहरूको आवात-जावत सदा झैँ देखियो भने सधैँ झैँ यहाँका प्रायः सबैजसो दोकानहरू पूर्ण रूपले खुल्लै रहेको थियो। यसबाहेक ठण्डा मौसमले गर्दा प्राय सबै स्कुल, कलेजहरू अगावैदेखि बन्द रहेको छ भने सरकारी कार्यालयहरूमा पनि बन्दको कुनै असर नपरेको देखियो। यसबाहेक दार्जिलिङ जिल्लामा रहेको प्रायः सबै चियाकमानहरू पनि आज खुल्लै रहेको देखियो भने सदा झैँ श्रमिकहरू आआफ्नो काममा गए।
समग्रमा भन्नुपर्दा वामफ्रन्टको श्रमिक संगठन तथा कांग्रेस श्रमिक संगठनहरूले बोलाएको भारत बन्दको दार्जिलिङ क्षेत्रमा कुनै असर परेन। हाल दार्जिलिङ क्षेत्रमा यी बन्द बोलाउने पार्टीको समर्थकहरू न्यून रहेकोले गर्दा साथै दार्जिलिङको हाल जीटीए चलाइरहेको सत्तारूढ पार्टी गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले पहाडमा बन्द पालन नगर्ने अगावै घोषणा गरिसकेकोले गर्दा पनि सम्भवतः बन्दको कुनै प्रभाव नपरेर सदा झैँ सबै सामान्य रह्यो।

मतिगढामा फेला पर्यो मृग
सिलगढी : सिलगढी संलग्न मतिगढाको पालपाड़ा इलाकामा स्थानीय मानिसहरूले एउटा मृग देखेपछि यसलाई हेर्न इलाकामा मानिसहरूको भीड जमेको देखियो। वन विभागलाई यसबारे खबर दिएपछि वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर उक्त मृगलाई उद्धार गरेर लगे। वन अधिकारी समीरण पालले उक्त मृग सुकना जङ्गल अथवा बेङडुबी फरेष्टबाट यहाँ आएको हुनसक्ने बताए। उक्त मृगलाई चोट लागेको हुनाले प्राथमिक चिकित्सापछि जङ्गलमा छोडिदिने तिनले बताए।siliguritimes/india



