

जी एन शर्मा
नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) का नेता भीम रावल अहिले अराजक शैलीमा प्रस्तुत भएकाछन् । आफ्नो पार्टीको सरकारकै बिरोध गर्न पनि उनी निक्कै कस्सिएर लागेकाछन् । आफ्नो पार्टीको सरकारले गरेका कामकुरा जे जस्ता भएपनि त्यसलाई मुण्टो हल्लाएर समर्थन गर्नु पर्ने ठाउँमा यो भएन र त्यो भएन भनेर सरकारका कृयाकलापको बिरोध गर्नेमा अहिले भीम रावल र भीम रावलहरु सकृय देखिएकाछन् । पार्टीको जिम्मेवार नेता अनि पटक पटक मन्त्री भईसकेको मान्छेले सञ्चारमाध्यामदेखि सार्वजनिक स्थलमा समेत सरकारका गतिविधिको आलोचना गरेकाले उनलाई पार्टी नीति र अनुशासनको दायर नाघेको भनेर कारबाही किन नगर्ने ?
हो, वास्तवमा भन्नुनै पर्दा अहिले भीम रावलहरु अराजक देखिएकाछन् । बहुमतको सरकार आफ्नो पार्टीको हुदा समेत सरकारलाई सकारात्मक सुझाव र सरकारको समर्थन अभियाननै चलाउनु पर्ने बेलामा अनाबाश्यक नारा र तर्क उचालेर सार्वजनिक रुपमा बिरोध गर्नु कुनै पनि कम्युनिष्ट पार्टँीको उपल्लो नेताका लागि किमार्थ सुहाउने बिषय होइन यसर्थ भीम रावलहरुलाई नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) ले यथाशिघ्र पार्टी पद्धति र अनुशासनको घोर उल्लंघ गरेको भनेर किन कारबाही नगर्ने ?
भीम रावल र भीम रावलहरुका कुरा आजका आबाश्यकता विषयनै होइनन् यो मौषम भनेको त सरकारका कामको प्रचार गर्ने हो । साना ठूला बिकासका कुरालाई आम जनतासँग पु¥याएर अर्को चुनाबमा पनि महाबहुमत ल्याउनका लागि नेता, कार्यकर्ता र समर्थक लाग्नु पर्ने बेलामा सरकारको बिरोध गनु भनेको प्रतिपक्षलाई पनि नाघेर अनुशासनको लक्ष्मण रेखानै पार गर्नु हो यसर्थ भीम रावलहरुलाई पार्टी नीति र विचारको ठाडो उल्लंघन गरेकोमा किन कारबाही गर्न ढिलो गर्ने ?
अहिले बेला न कुबेला भीम रावलहरु विचार, सिद्धान्त, नैतिकता, मूल्य र मान्यताको कुरा गर्छन्, अहिले भीम रावलहरु राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको कुरा गर्छन् , आफ्नो पन र नेपाली मनको कुरा गर्छन, काम नपाएर भीम रावलहरु कम्युनिष्ट घोषणा पत्र र सर्वहारावर्गको कुरा गर्छन् जमाना कताबाट कता पुगि सक्यो भीम रावलहरु आस्था र दर्शनको तर्क गर्छन् । सरकारले जे गरे पनि मुठ्ी कस्सेर हात उचाल्नु पर्ने बहुमतको सरकारको पालामा नागरिकता बिधेयकका बारेमा बहस गर्छन् भने यो अराजकता नभएर के हो ?मिलेनियम च्यालेन्ज कर्पोरेसन मार्फत आउने करोडौ रकमलाई राष्ट्रिय स्वाधिनतासँग जोडेर यसले देशको पक्षमा काम गर्दैन र नेपालीको भलो हुदैन भनेर अमेरिकन डलर रोक्न प्रयत्न गर्नु कति लायक काम हो ? बिकासका लागि पहिला पैसा चाहिन्छ , राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका कुरा पछि गर्ने हो यसर्थ सरकारका कामका बारेमा आलोचना गरेकाले, कम्युनिष्ट पार्टीमा विचार, सिद्धान्त, मूल्य,मान्यता र आस्थाका विषयमा छलफल चलाएकाले भीम रावलहरुलाई किन कारबाही नगर्ने ?
नेपालको परिवेशमा भन्ने हो भने कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयता हुन्छ अनि त्यो भन्दा माथि दुईचार जना नेता हुन्छन् उनीहरुले जे बोले त्यो अकाट्य कान्तिकारी वचन हुन्छ भने यस्तो कुरो बझेर पनि यता गलत भो उता गलत भो भनेर श्रद्धेय नेताहरुको कार्यशैलीको आलोचना र खण्डन गर्नु भनेको विश्वकम्युनिष्ट शास्त्रको बिपरित जानु हो भनेर भीम रावलहरुलाई तत्काल किन कारबाही नगर्ने ? मिलेनियम च्यालेन्ज कर्पोरेसन मार्फत करोडौ रकम आउन लागेको बेलामा, नागरिकता बिधेयकलाई सहज बनाउन वातारवरण अनुकूल भईरहेको बेलामा , सरकारका मन्त्रीहरुले धमाधम शिल्यान्यास गरिरहेको बेलामा अझ भनौ भने देश समृद्ध नेपाल र सुखी नेपालीको महायात्रा लुरुलुरु हिडिरहेको बेलामा हो मा हो मिलाएर सरकारको जय होस भनेर किर्तन गर्नु पर्ने समयमा राष्ट्रिय स्वाधिनता र माटो प्रेमको विषयलाई महत्वका साथ उठाएर जनतालाई सचेत र जागरुक बनाउने काम गरेकोमा, आफ्नै पार्टीको सरकारले गर्न लागेका र गरेका विषय वस्तुलाई अन्धसमर्थन नगरेर यसले नेपाल र नेपालीलाई भलो गर्दैन भनेर विद्रोहको शैलीमा पार्टी कारबाहीको कुनै वास्तानै नगरी एकोहोरो देशप्रेमको अभियान चलाएकोमा भीम रावलहरुलाई पार्टीको विधान पल्टाएर किन कारबाही गर्न डराउने?
भीम रावलहरु वास्तवमै अराजक र अनुशासनहिनहरु हुन् किनभने यीनीहरु आजका दिनमा पनि राष्ट्रियता र राष्ट्रिय स्वाधिनतालाई आफ्नो शीर भन्दा पनि उच्च राख्न खोजीरहेकाछन् मुखले मात्र समाजबाद र जनवादको बिज्ञापन भैरहेको वर्तमानमा पनि पार्टीको विचार, सिद्धान्त, मूल्य मान्यता र आस्थाको वकालत गरिरहेकाछन् । हिजो झुप्रो र छाप्रोका कुरा कथुरेर नथाक्नेहरुले छलाङ्ग मारेर महलप्रेमी भईरहदा पनि यी अराजकहरु गरीब र शोषितको अधिकारको वकालत गरिरहेकाछन् अनि यीनीहरुलाई कारबााही नगरेर नेताले जसोजसो गरे पनि हस् भन्ने हुन्छरामहरुलाई कारबाही गर्ने त ?
तर, यी अराजकहरुको पक्षमा नजानिदो गरेर आज एकाएक जनसमर्थन बढेको देखिन्छ , पार्टी भन्दा माथि माटोको अगाध स्नेह बोकेका भीम रावलहर्रु अहिले सरकारी बक्ताहरुको आलोचना शिकार जस्ता भएकाछन् ।तर, साँचो डग्दैन झुठो टिक्दैन भनेझै सत्यको वकालत गरिरहेका भीम रावलहरु जस्ता अराजकहरु पनि यो देशमा अहिले सबै भन्दा बढी आबाश्यक भएको जस्तो देखिन्छ । न्याय, समानता, स्वतन्त्रता र राष्ट्रिय स्वाधिनताको पक्षमा जब सम्म भीम रावलहरु बोली रहनेछन् आश गर्न सकिन्छ कि कुर्सी, पद, शक्ति र प्रतिष्ठालाई पर राखेर जनता र देशको पक्षमा राजनीति गर्ने मान्छेहरु पनि यो देशल जन्माएको रहेछ भनेर । मुखमा मात्र होइन मनमा पनि देश र जनताको पक्षमा बोल्ने नेताहरु अझै पनि राजनीतिमा रहेछन् भनेर राजनीतिलाई कमाउ र मस्ती गर भन्नेहरुको नाटकबाट वाक्क दिक्क भएका तलका मान्छेहरुले ए, सबै त उस्तै रहेनछन् है भनेर थोरै आशा जगाउने कामको अभियान आज अराजक भनीएका भीम रावलहरुले गरिरहेकाछन् ।



