खबर

बनेन बिर्तामोड–भद्रपुर रोड

पुष्प बराल

बिर्तामोड / बिर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर सडक खण्ड निर्माण सक्नुपर्ने समय सकिए पनि काम भने सकिएको छैन ।

आशिस प्रेरा जेभीले निर्माणको ठेक्का लिएको बाटोमा पेटी ठेकेदार राजकिशोर गुप्ताले लामो समयसम्म काम नगरेपछि निर्माणले गति लिन नसकेको हो ।

पछिल्लोसमय अर्थात् गत मंसिर ११ गतेदेखि स्थानीय निर्माण व्यवसायी केदार गिरीले काम गरिरहे पनि निर्धारित समयमा काम नसकिएको हो। काम सक्नुपर्ने मिति २०७६ पुस मसान्त हो । ‘मैले काम सुरु गरेपछि कामलाई तीव्र बनाएको छु’ व्यवसायी गिरीले भने– ‘टेलिकम, विद्युत र खानेपानीको पोल र पाइपले अहिले पनि काम गर्न अप्ठ्यारो भइरहेको छ ।’

उनले असार मसान्तसम्ममा काम सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘कामको प्रगति हेरेर मात्र ठेक्काको सम्झौतामा मिति थप्छु, नभए कानुन अनुसार अघि बढ्छु’ डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भने– ‘पुस १४ गते सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन सार्वजनिक भएको छ, त्यस अनुसार अगाडि बढ्छौं ।’ सार्वजनिक खरिद ऐनले एक वर्षभित्र सबै निर्माणका काम सक्नु पर्ने व्यवस्था गरेको छ । तर, आशिस प्रेरा जेभीले सात महिना म्याद थप्न अनुरोध गर्दै डिभिजन सडक कार्यालय दमकमा निवेदन दर्ता गराएको छ । प्रमुख यादवले भने– ‘मिति थप्दिन, काम हेरेर निर्णय गर्छु ।’

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सुरुमा ठेक्कामा उल्लेखित पैसा नपाएर काम अगाडि बढाएको थिएन । व्यवसायी गिरीले काम थालेपछि मात्र खानेपानीसँग समन्वय भएको र हाल सबै सामाग्री आइसकेकाले कामले तीव्रता पाउने अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

टेलिकमका अधिकृत राम दवाडीले आफ्ना सबै पोल हटाइसकेको दावी गर्दै कहीँ बाटामा पोल भेटे भत्काउन निर्माण व्यवसायीलाई भनिदिन चुनौती दिए । ‘हाम्रा पोल बाटोमा छैनन्, हाकिम साबले भन्नुभएको हो’ अधिकृत दवाडीले भने– ‘हाम्रा पोल भेटिए भत्काए हुन्छ ।’

‘प्राविधिक कारणले केही पोल हटाउन ढिलो भएको छ, दुई दिनभित्र कामसक्छु भनेर विद्युतका हाकिमले भन्नुभएको छ’ झापा क्षेत्र नम्बर २ का संघीय सांसद पवित्रा निरौला खरेलले भनिन्– ‘कामलाई तीव्रता दिन भएका अवरोध हटाउन लागेका छौं ।’ सबैसँग जनप्रतिनिधिका नाताले समन्वय गरिरहेको उनको भनाई छ ।

‘विद्युत प्राधिकरणलाई पोल सार्ने सबै पैसा खातामा पठाइसकेका छौं, टेलिकमको केही बाँकी छ’ सडकका प्रमुख यादवले भने– ‘काम सकेपछि पैसा दिने जिम्मा हाम्रो हो, कसैले पनि पैसाका कारण काम भएन भन्न पाइने अवस्था छैन ।’ उनले भद्रपुर रोडको कामलाई सम्पन्न गर्न कार्यालयका तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।janasamsaddaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button