स्वास्थ्य

कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन निर्देशन

काठमाडौँ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशन दिनुभएको छ ।

कोरोनाभाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग आज मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले उक्त निर्देशन दिनुभएको हो । उहाँले कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखी पठाउनसमेत निर्देशन दिँदै आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टिम बनाइने बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रसँग आबद्ध सबै सङ्घसंस्था तथा विज्ञलाई कोरोना भाइरसले पार्नसक्ने प्रभाव र सरकारकोतर्फबाट चाल्नुपर्ने कदमबारे तीनदिनभित्र सुझाव दिन पनि आग्रह गर्नुभयो । साथै विमानस्थलमा यसबारे सजगता बढाइएको जानकारी गराउँदै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पर्यटकको धेरै आवतजावत हुने काठमाडौँ बाहिरका विमानस्थलमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ‘हेल्थ डेस्क’ राख्ने प्रक्रिया पनि अघि बढाइएको बताउनुभयो ।

अभिभावकका रुपमा राज्यभएकाले अहिले धेरै नआत्तिइ आफ्ना व्यवसाय सञ्चालन गर्न पनि उहाँले पर्यटन व्यवसायीसँग आग्रह गर्नुभयो । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोरोनाभाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराउनुभएको थियो।

प्राधिकरणका महानिर्देशक राजनपोखरेल, बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी, वायुसेवा सञ्चालक सङ्घ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टान, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल , होटल एशोसिएसन अफ नेपाल हानलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिले पर्यटन उद्योगमा परेको असरबारे जानकारी गराउँदै राज्यले यो उद्योगलाई बचाइराख्न बंैकको व्याजदरलगायतका विभिन्न विषयमा सहुलियत दिनुपर्ने उहाँहरुको माग थियो ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button