मूल खबर

११ सयभन्दा बढीको १० करोड ठगी

सुरेश तामाङ, काठमाडौं ।
पोल्यान्ड पठाइदिन्छु भनी प्रलोभनमा पारी ललितपुरको ग्वार्काेस्थित दृष्मा ओभरसिज प्रालिले १ हजार १ सयभन्दा बढी युवायुवतीलाई ठगी गरेको र अझै पनि पीडितहरू थपिने क्रममा रहेको छ।
सरकारी वकिलको कार्यालय ललितपुरकी जिल्ला न्यायाधिवक्ता मोना सिंहले शुरूमा ६ सय ९ जना पीडितलाई ठगेको अभियोग लगाए पनि पीडितको संख्या बढ्दै जाँदा हाल १ हजार १ सय पुगेको बताउनुभयो। ‘हामीले शुरूमा ६ सय ९ जना पीडितलाई ठगी गरेको अभियोग लगायौं। पछि पीडित थपिँदै गएका छन्। अहिलेसम्म हामीले तीनपटक थप पीडित र बिगोसहित मागदाबी लिएका छौं।’ –उहाँले भन्नुभयो। पीडितको संख्या अझै थपिन सक्ने उहाँले बताउनुभयो।
सरकारी वकिलको कार्यालयले शुरूमा ६ सय ९ जना, दोस्रोपटक २ सय ४२ जना र तेस्रोपटकमा २ सय ५१ जना पीडित ठगी भएको अभियोग लगाएको छ। कम्पनीका सञ्चालक र कामदार गरी १२ जनाविरुद्ध ठगी गरेको अभियोग लगाएको थियो।
विमला लामा, अरुणकुमार महतो, विपीनकुमार यादव, हरिबहादुर लामा, दीपक तामाङ पाख्रिन, सन्दीप तामाङ, सुनील भन्ने साङबहादुर तामाङ, धनबहादुर तामाङ, कृष्णकुमारी लामा, धरोदेवी लामा, दीपेन्द्रविक्रम शाह र अमितकुमार यादवविरुद्ध ठगीको अभियोग लगाइएको थियो।
उनीहरूविरुद्ध २०७५ चैतमा प्रहरीमा जाहेरी परेको हो। जाहेरी परेलगत्तै तीन जना समातिएका हुन्।
जसमा दोलखा तामाकोसी–२ की विमला लामा, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ का हरिबहादुर लामा र धनुषा मिथिला नगरपालिका–८ का अरूणकुमार महतो गरी तीन जना पक्राउ गरे पनि अन्य भने फरार छन्। पक्राउ पर्ने तीनै जना पुर्पक्षका लागि थुनामा छन्। अदालतले उनीहरूलाई गत फागुन २८ मा पुर्पक्षका लागि थुनामा राख्ने अनुमति दिएको थियो।
ललितपुर जिल्ला अदालतमा सो कम्पनीले ठगी गरेको अभियोगसहित दायर भएको मुद्दा चलिरहेको छ। गत वर्ष दायर मुद्दाको जिल्ला अदालतबाट यही माघ १३ गते प्रमाण बुझ्ने आदेश भएसँगै पीडितको बकपत्र लिने काम शुरु भएको छ।
अहिले पीडितको बकपत्र चलिरहेको जिल्ला अदालतका श्रेस्तेदार नागेन्द्र कालाखेतीले बताउनुभयो। उहाँले हालसम्म चार सय जनाको बकपत्र सकेको जानकारी दिनुभयो। बकपत्र मुद्दाको पीडित, प्रतिवादी र साक्षी पक्षसहितले दिने गर्दछन्। अनुसन्धानको क्रममा र मौकामा दिएको बयानलाई सहयोग पुग्ने गरी अदालतमा मुद्दासँग सम्बन्धित व्यक्तिहरूको बकपत्र गरिन्छ।
दृष्मा मेनपावर कम्पनीले पोल्यान्ड पठाइदिन्छु भन्दै सुरुमै रकम लिएर महिनांै र वर्ष दिन बिते पनि विदेश नपठाएपछि उजुरी दिनुपरेको पीडितहरूले बताएका छन्। उक्त कम्पनीले पोल्यान्ड पठाइदिने प्रलोभनमा ५० हजारदेखि ३ लाखसम्म पीडित युवाहरूबाट रकम लिएको थियो।
पछिल्लो अभियोगअनुसार ९ करोड ६७ लाख ७० हजार २ सय ७० रुपियाँ ठगी गरेको जनाइएको छ। पीडितका अनुसार सबैलाई दृष्माबाट सञ्चालित नबिल वचत तथा ऋण सहकारी संस्थामा पैसा जम्मा गर्न लगाइएको थियो। उनीहरूलाई दिएको पैसा जम्मा भएको भन्दै सहकारीको पासबुकसमेत दिइएको थियो।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button