कृषि र किसान

हिमाली जिल्लामा सतुवा खेती फस्टाउदै

गलेश्वर । हिमाली जिल्ला म्याग्दीको तोरीपानीमा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ । दुई वर्षअघि इलामबाट बीउ ल्याएर परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले व्यावसायिकरूपमा नै सतुवा खेती शुरु गर्नुभएको हो ।

गतवर्ष सतुवाका ३० हजार बिरुवा बिक्री गरेर रु छ लाख आम्दानी गर्नुभएका बानियाँले यस वर्ष तीन टनेलमा डेढ लाख बिरुवा हुर्काउनुभएको छ । ती बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी हुने बानियाँले बताउनुभयो । टिमुरलगायतका विभिन्न किसिमका औषधीय गुणले युक्त बहुउपयोगी जडीबुटी खेतीमा लाग्नुभएका बानियाँले दुई वर्षअघि इलाम पुगेर रु एक लाख ११ हजारमा एक केजी सतुवाको बीउ खरिद गरेर ल्याई म्याग्दीमा सतुवा खेतीको शुरुआत गर्नुभएको थियो । बानियाँ सतुवा खेती गर्ने जिल्लाको पहिलो कृषक हुनुहुन्छ ।

“टिमुर खेतीसँगै सतुवा खेतीलाई व्यावसायिक रूप दिएको छु, मागअनुसारका बिरुवा पु¥याउन सकेको छैन”, बानियाँले भन्नुभयो । उहाँका अनुसार नर्सरीमा उत्पादित डेढ लाख बिरुवामध्ये एक लाख बिरुवाको माग काभ्रे जिल्लाबाट, २० हजार बिरुवा बागलुङ र ३० हजार बिरुवा नेपाल रेडक्रस सोसाइटीले माग गरिसकेका छन् । आगामी वर्षदेखि वार्षिक एक करोड सतुवाका बिरुवा बिक्री गर्ने योजना रहेको बानियाँले बताउनुभयो ।

समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइ भएको क्षेत्रमा सतुवा खेती गर्न सकिने बताउँदै बानियाँले तोरीपानी सतुवालगायतका जडीबुटी खेतीका लागि उपयुक्त भएको र यो खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउनुभयो । बानियाँले पहिलो वर्ष ग्रीनहाउस निर्माण, माटो परीक्षण गरी सतुवाको बीउ ल्याएर लगाएको बताउनुभयो । उहाँका अनुसार अहिले सतुवाका बिरुवा खरिद गर्न बाहिरी जिल्लाबाट समेत मानिस आउन थालेपछि नर्सरीमा भीड लाग्न थालेको छ ।बानियाँले समूहमा आउनेलाई प्रतिबिरुवा रु ३५ र व्यक्तिगतरूपमा आउनेलाई प्रतिबिरुवा रु ५० मा बिक्री गर्दै आउनुभएको छ । बानियाँ सतुवा खेती गर्ने म्याग्दीको एक मात्र किसान हुनुहुन्छ ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button