कृषि र किसान

चेपाङ समुदायको दिनचर्या तरकारी खेतीले फेरिँदै

चितवन । धुषा डाँडा गाउँका भिरालो बारीको ससाना पाटामा हरियाली काँक्रोको लहराले झपक्कै ढाकेको छ । चितवनको पहाडी भेग इच्छाकामना गाउँपालिका–३ को सीमान्तकृत चेपाङ समुदायको ती क्षेत्रमा बाक्लो बस्ती रहेको छ । गाउँका ती समुदाय यति बेला काँक्रोलाई थाक्रा हाल्न व्यस्त छन् । अहिले बेमौसमी काँक्रो खेतीको मौसम हो ।

गिठा र भ्याकुर खोजेर खाने तथा खोरिया फाँडेर कोदो मकै लगाएर जीवन निर्वाह गर्ने ती समुदायको आजभोली दिनचर्या फेरिएको छ । इच्छाकामना गाउँपालिका–३ धुषाका सिद्धान्त चेपाङले यस वर्ष पनि बारीमा काँक्रो लगाउनुभएको छ । गत वर्ष उहाँले लागत खर्च कटाएर रु एक लाख आम्दानी गर्नुभयो । साथै सिजनअनुसार अन्य तकारी खेती पनि लगाउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले तरकारी खेतीबाटै परिवारको पालनपोषणसमेत गर्दै आउनुभएको छ । ससाना भैपरी आउने खर्चका लागि कसैलाई गुहार्नु परेको छैन ।

वडा नम्बर ३ का वडासदस्य ९जनप्रतिनिधि० समेत रहनुभएका डम्मरी कुमारी चेपाङले पनि गत वर्ष रु एक लाख ५० हजारको काँक्रो मात्र बेच्नुभयो । उहाँका अनुसार धुषा गाउँमा ५३ घरधुरी चेपाङ छन् । अधिकांशले तरकारी खेती गर्छन् । यहाँका केही किसानले तरकारी खेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्छन् । आफू जनप्रतिनिधि भएकाले तरकारी खेतीमा मात्र ध्यान दिन नपाएकाले अरुले जति आम्दानी गर्न नसकिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म जनप्रतिनिधि भएकाले चारैतिर पुग्नुपर्छ, बचेको थोरै समयमा काम गर्दा पनि गत साल रु एक लाख ५० हजार जतिको काँक्रोबाट आम्दानी गरँे, यहाँका किसानले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्छन् ।” उहाँका अनुसार तरकारी खेतीको आम्दानीबाटै यहाँका चेपाङ समुदायले दैनिक गुजारा चलाउने गर्छन् ।

तरकारी खेती शुरु गरेसँगै ती समुदायको व्यस्तता पनि बढेको छ । विगतमा जस्तो सभा समारोह विभिन्न कार्यक्रममा ती समुदाय त्यति सहभागी हुँदैनन् । वडासदस्य डम्मरकुमारी चेपाङले भन्नुभयो, “पहिला पहिला सानो कार्यक्रम हुँदा पनि गाउँ नै रितो हुने गरी जाने गथ्र्यो, अहिले केही कार्यक्रम भयो भने घरघर लिन जानपर्छ प्रायः काममा व्यवस्त भेटिन्छन् ।” अहिले गाउँमै सडक पुगेपछि उनीहरुलाई बजारसम्म तरकारी लैजान सजिलो समेत भएको छ ।

वडा नम्बर ६ का चेपाङ पनि व्यवसायी तरकारी खेतीमा सक्रिय रहेको वडाध्यक्ष भूपेन्द्र चेपाङ बताउनुहुन्छ । वडा र गाउँपालिकासँगै विभिन्न सङ्घसंस्थाले तरकारी खेतीका लागि विभिन्न समयमा तालीम प्रदान गर्ने गरेको कारण चेपाङ समुदाय पछिल्लो समय व्यवसायीरुपै तरकारी खेतीमा आकर्षित भएको उहाँले बताउनुभयो ।

यहाँ दुर्गम बस्तीमा सडक र पानीको अभावमा अझै किसान व्यवसायी बन्न नसकेको पनि उहाँको भनाइ छ । यहाँका ती समुदायले तरकारी खेती सँगसँगै आर्थिक आम्दानीका लागि बाख्रा र भैँसी पनि पाल्ने गरेका छन् । इच्छाकामना गाउँपालिकामा ती समुदायको बाहुल्यता रहेको छ। पछिल्लो जनगणना २०६८ अनुसार २५ हजार १२ जनसङ्ख्या रहेको यस गाउँपालिकामा ती समुदायको बाहुल्यता रहेको छ ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button