स्वास्थ्य

कोरोनाभाइरस कसले र कसरी पत्ता लगाइएको थियो

लेखक जर्ज विन्टरको बीबीसी हिन्दीमा प्रकाशित लेखको अनुवाद

मानिसमा पहिलो पटक कोरोनाभाइरसको खोजी गर्ने महिला स्कटल्याण्डका एक बस ड्राइभरकी छोरी थिइन जसले १६ वर्षमा स्कूल छोडेकी थिइन । ती महिलाको नाम थियो जून अलमेडा, जसले भाइरस इमेजिङको क्षेत्रमा चर्चित व्यक्तित्वको सूचीमा आफ्नो नाम लेखाउन चाहन्थिन । तर कोभिड–१९ महामारीको समयमा जूनको काम चर्चा भइरहेको छ र उनको खोज चर्चाको केन्द्रमा छ ।
कोभिड–१९ एउटा नयाँ भाइरस हो तर यो कोरोना भाइरस परिवार भित्रकै एक प्रकारको भाइरस हो । कोरोना भाइरसको खोज भाइरोलोजिस्ट डाक्टर अलमेडाले सबैभन्दा पहिले सन १९६४ मा लण्डनको सेन्ट थोमस अस्पतालमा रहेको प्रयोगशालामा गरेकी थिइन ।
अलमेडाको जन्म सन १९३० मा स्कटल्याण्डको ग्लासगो शहरको उत्तर–पूर्वस्थित एक बस्तीमा बस्ने निकै साधारण परिवारमा भएको थियो । १६ वर्षको उमेरमा स्कूलको पढाई पूरा गरेपछि जूनले ग्लासगो शहरकै एक प्रयोगशालामा प्राविधिकको रुपमा काम गर्न सुरु गरिन । पछि उनी नयाँ सम्भावनाको खोज्नका लागि लण्डन गइन । त्यहाँ बार्थोलोमेउ अस्पतालमा आफ्नो करियर अघि बढाइन । सन १९५४ मा उनले भेनेजुलाका कलाकार एनरिके अलमेडासँग विवाह गरिन ।
उनले आफ्नो अनुसन्धानलाई सामान्य रुघा–खोकीमाथि केन्द्रीत गरिन । बीबीसीका लागि स्वास्थ्य क्षेत्रका लेखक जर्ज विन्टरका अनुसार विवाह गरेको केही वर्षपछि यो दम्पत्ती आफ्नी छोरीसँग क्यानडाको टोरोन्टो शहर गएका थिए । उनी त्यहाँको ओन्टोरियो क्यान्सर इन्स्टिच्युटमा इलेक्ट्रोनमाइक्रोस्कोपिस्टको रुपमा काम गरिन । औपचारिक शिक्षा थोरै भएपछि उनको क्षमताका कारण उनको क्रमशः प्रोमोशन भइरह्यो ।
क्यानडाकै ओन्टारियो क्यान्सर इन्स्टिच्युटमा डाक्टर जून अलमेडाले एक इलेक्ट्रोन माइक्रोस्कोपको सहारामा आफ्नो उत्कृष्ट कौशल विकसित गरिन । यो संस्थामा काम गर्दै गर्दा उनले एउटा यस्तो विधिमा विशिष्टता हाँसिल गरेकी थिइन जसको मद्दतले भाइरसको कल्पना गर्न निकै सजिलो भएको थियो ।
लेखक जर्ज विन्टरले बीबीसीसँगको कुराकानीमा भनेका छन्–‘बेलायतले डाक्टर जून अलमेडाको कामको महत्वलाई बुझेर सन १९६४ मा उनलाई लण्डनको सेन्ट थोमस मेडिकल स्कूलमा काम गर्ने प्रस्ताव राख्यो । यो त्यहि अस्पताल हो जहाँ कोभिड–१९ बाट संक्रमित भएपछि ब्रिटेनका वर्तमान प्रधानमन्त्री बोरिस जोनसोनको उपचार भएको थियो ।
क्यानडाबाट फर्किएपछि डाक्टर अलमेडाले डाक्टर डेभिड टायरेलसँग मिलेर अनुसन्धानको काम सुरु गरिन । टायरेलले त्यतिबेला बेलायतको सेलिस्बरी क्षेत्रमा सामान्य रुघा–खोकीबारे अनुसन्धान गरिरहेका थिए ।
लेखक जर्ज विन्टरका अनुसार डाक्टर टायरेलले रुघा लागेका बेला नाकबाट बग्ने तरल पदार्थका विभिन्न नमूना जम्मा गरेका थिए र उनको समूहले लगभग सबै नमूनामा सामान्य रुघा–खोकी लाग्दा पाइने भाइरसमात्र देखिरहेका थिए ।
तर तीमध्ये एउटा नमूना अन्यको भन्दा बिल्कुल फरक थियो । यसलाई बी–८१४ नाम दिइएको थियो र यो सन १९६० मा एक बोर्डिङ स्कूलका विद्यार्र्थीबाट लिइएको थियो ।
कोरोनाभाइरस नाम कसले दियो ?
डाक्टर टायरेलले उक्त नमूनाका परीक्षण गर्न चाहे । यसका लागि उनले डाक्टर जून अलमेडाको मद्दत लिने सोचे । उक्त स्याम्पल परीक्षणका लागि डाक्टर अलमेडालाई पठाइया,े जसले परीक्षणपछि भनिन, ‘यो भाइरस इन्फ्लूएन्जाजस्तो देखिन्छ तर यो त्यो होइन, यो निकै भिन्न छ ।’ र यो त्यहि भाइरस हो जसको पहिचान पछि डाक्टर जून अलमेडाले कोरोनाभाइरसको रुपमा गरिन ।
जर्ज विन्टरले भनेका छन् ु‘डाक्टर अलमेडाले वास्तवमा यो भाइरसजस्तो कण योभन्दा अघि मुसामा पाइने हेपिटाइटिस र कुखुरामा हुने संक्रमित रोग ब्रोन्काइटिसमा देखेकी थिइन ।’
विन्टरका अनुसार डाक्टर जूनको पहिलो रिसर्च पेपर खारेज गरियो । उनले इन्फ्लूएन्जा भाइरसकै खराब तस्बिर पेश गरेको भन्दै उनको उक्त रिसर्च पेपर रद्द गरिएको थियो ।
तर स्याम्पल संख्या बी–८१४ माथि गरिएको यो नयाँ अनुसन्धानलाई सन १९६५ मा प्रकाशित भएको ब्रिटिश मेडिकल जर्नलमा र त्यसको दुई वर्षपछि जर्नल अफ जेनरल वायरोलोजीमा तस्बिरसहित प्रकाशित गरियो ।
जर्ज विन्टरका अनुसार डाक्टर टायरेल, डाक्टर अलमेडा र सेन्ट थोमस मेडिकल संस्थानका प्राध्यापक टोनी वाटरसनले यो भाइरसको अग्लो–होचो बनावट देखेरै यसको नाम कोरोनाभाइरस राखेका थिए ।
पछि जून अलमेडाले लण्डनको पोस्टग्रेजुएट मेडिकल कलेजमा काम गरिन, त्यहिँबाट उनले आफ्नो डक्ट्रेटको पढाई पनि पूरा गरिन । आफ्नो करियरको अन्तिम दिनमा डाक्टर जून अलमेडा वेलकम इन्स्टिच्युटमा थिइन्,जहाँ उनले इमेजिङमार्फत थुप्रै नयाँ भाइरसको पहिचान गरिन ।
वेलकम इन्स्टिच्युटबाट अवकाश लिएपछि डाक्टर अलमेडा योगा शिक्षिका बनेकी थिइन । तर सन १९८० को दशकमा उनलाई संरक्षकको रुपमा एचआइभी भाइरसको नोवल तस्बिर लिनका लागि बोलाइएको थियो । सन २००७ मा जून अलमेडाको निधन भयो । त्यतिबेला उनी ७७ वर्षकी थिइन ।
अब उनको मृत्यु भएको १३ वर्ष बितिसकेको छ र उनको कामले अहिले मान्यता पाइरहेको छ जसको उनी हकदार थिइन । एक उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा उनको स्मरण गरिँदैछ किनभने उनको अनुसन्धानकै कारण अहिलेको समयमा संसारभरी फैलिरहेको कोरोनाभाइरसको संक्रमण बुझ्न मद्दत पाइरहेको छ ।moolbato/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button