
भारतमा वैशाख २१ गतेसम्म ‘लकडाउन’ जारी राखिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको भोलिपल्ट त्यहाँको गृह मन्त्रालयले एक नयाँ निर्देशिका जारी गरेको छ। जसअनुसार वैशाख ८ पश्चात् त्यहाँ कृषि गतिविधिलाई अनुमति दिइनेछ।
लकडाउनको बेला स्वास्थ्य सेवा तथा आपत्कालीन कर्मचारीको आवतजावतका निम्ति बाहेक सार्वजनिक यातायात, उडान तथा रेलसेवा स्थगित रहनेछन्। स्कुल तथा विश्वविद्यालयका साथै धार्मिक मठमन्दिर बन्द रहनेछन्। खेल गतिविधि पनि बन्द रहनेछन्। अस्पताल र स्वास्थ्यसेवा भने जारी रहनेछन्।
अर्थतन्त्रलाई केही त्राण
निर्देशिका बमोजिम वैशाख ८ पश्चात् कृषिसँग सम्बन्धित गतिविधि खुकुलो पारिने छ भने ब्याङ्क तथा सार्वजनिक सेवा पनि सहज पारिने बताइएको छ। कृषि अन्तर्गत दुग्ध, चिया, कफी र रबर खेतीलाई पनि सहज तुल्याइने तथा कृषिसम्बन्धी सामग्री बेच्ने उपकरण तथा मल बेच्ने पसललाई पनि छुट दिइने कुरा निर्देशिकामा छ।
नयाँ नियमहरूले आपूर्तिका सञ्जाललाई सहजीकरण गरेर अर्थतन्त्रमा परिरहेको प्रभावलाई कम गर्ने ठानिएको छ। दैनिक ज्यालादारी मजदुरको आम्दानीका स्रोत रहेका सार्वजनिक निर्माण कार्य पनि कडा सामाजिक दूरीका उपाय अपनाएर खोलिने बताइएको छ।
मालबाहक ट्रक, रेल तथा विमान सेवालाई पनि अनुमति दिइने जनाइएको छ। केही सातायता राज्यहरूबीच ठूलो परिमाणमा मालबाहक सवारीसाधन रोकिएपछि आपूर्ति प्रणालीमा समस्या आएको थियो। ब्याङ्कका साथै सामाजिक सुरक्षा तथा पेन्सन बाँड्ने सरकारी केन्द्रहरू पनि खुल्ने निर्देशिकामा उल्लेख छ। चैत १२ देखि भारतमा ‘लकडाउन’ जारी छ।बीबीसीबाट



