दमक। कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण झापाका च्याउ किसान मर्कामा परेका छन् ।
लाखौं रुपैयाँको लगानीमा गरिएको खेतीबाट उत्पादन भएका च्याउ लकडाउनका कारण स्थानीय र वाह्य बजारसम्म पुर्याउन नसक्दा उनीहरु मर्कामा परेका हुन् ।
च्याउ उत्पादक किसान सङ्घ झापाका संयोजक ज्ञानेन्द्र प्रसाद गौतमले लामो समयसम्म भएका लकडाउनका कारण उत्पादित च्याउ बजारसम्म पुर्याउन नसक्दा यहाँका दर्जनौ च्याउ किसान मर्कामा परेको बताउनुभयो । किसानले उत्पादन गरेका च्याउ उपभोक्तासम्म पुर्याउन नसक्दा खेतबारीमै कुहिने अवस्थामा पुगेको उहाँको गुनासो छ ।
जिल्लाको दमक, शिवसताक्षी, कमल, गौरादह, विर्तामोड, कन्काईलगायतका पालिकाहरुमा च्याउको व्यवसायिक खेती हुँदै आएको छ । यस क्षेत्रमा मात्रै दर्जनौं परिवार च्याउ व्यवसायमा आवद्ध छन् ।



