हेटौँडा। वाग्मती प्रदेशको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एवं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक र भौतिक दूरी कायम गरी कृषि कार्य गराउन प्रेरित गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले कृषिका लागि चाहिने मलखाद एवं बीउबिजन उपलब्ध गराउने निर्णयसमेत गरेको छ । बैठकले प्रदेशमा बढीभन्दा बढीको कोरोना परीक्षण गराउने निर्णय गरेको छ । विदेशबाट आएका एवं प्रभावित व्यक्तिको खोजी गरी दु्रत जाँच ¥यापिड डाइग्नोष्टिक टेष्ट गर्ने र आवश्यक परे पिसिआर टेष्ट गर्ने निर्णय भएको छ । मन्त्री ढुङ्गेलका अनुसार राहत वितरणलाई पारदर्शी बनाउन राहत प्राप्त गर्नेको विवरण प्रकाशित गर्ने तथा वेबसाइटमा राख्ने निर्णय भएको छ ।
अझै पनि केही स्थानमा राहत वितरणमा एकद्वार नीति अवलम्बन नगरेको पाइएकाले सङ्घीय सरकारको निर्देशिकाअनुसार कडाइका साथ एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले प्रदेशमा अलपत्र परेका व्यक्तिको उचित व्यवस्थापनका लागि आवश्यकताअनुसार काम गर्ने, जिल्लामा भएका एम्बुलेन्सलाई जिल्ला प्रशासनको कमाण्ड पोष्टमार्फत व्यवस्थापन गरी सञ्चालन गर्ने, एम्बुलेन्स सञ्चालन गर्न अटेर गर्ने संस्था र चालकलाई कारवाही गर्ने निर्णय भएको सरकारका प्रवक्तसमेत रहनुभएका मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो।
यसैगरी बैठकले स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव कमगर्न सङ्घीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ । यस्तै लकडाउनको समयमा विभिन्न विकृतिजन्य क्रियाकलाप गर्नेलाई कारवाही गर्ने र त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न स्थानीय प्रशासनलाई निर्देश गर्ने निर्णय भएको मन्त्री ढुङ्गेलले बताउनुभयो ।
बैठकमा मुख्यमन्त्री पौडेलले लकडाउनका कारण कृषि उत्पादनमा समेत असर परेकाले स्थानीय तहमार्फत समन्वय गराएर काम गर्नुपर्ने बताउनुभयो । ।



