सृजनाको चौतारी

के लेखौँ कविता

कवि जयप्रसाद आचार्य
के लेखौँ कविता विपत्ति जगमा मान्छे छआकूलमा
सन्सारै कसरी सखाप हुनगो सन्त्रासको रापमा ।
मृत्युको मुखमा पुगेर यसरी यो आउला के धरा
आफैंमा भइ मानवीय सबले जाती छ बस्नै घर ।।

बड्दैथ्यो मनमा वसन्त कलको निर्दोष शालीनता
उठ्यो यो भुमरी बनी जगतमा पार्‍यो सबै दुर्दशा ।
पर्‍यो बज्र अचम्म विश्व नरमा काप्दै छ यो थर्थर
आफैंमा भइ मानवीय सबले जाती छ बस्नै घर ।।

आयो मेघसरी कलङ्क जगमा छुट्दैन कस्तै गरी
बाँच्नु नै छ यहाँ मनुष्य जनले स्वकर्म धैर्यै गरी ।
ठूलै अग्निसरी मनुष्य जनले भोग्दै छ यो कहर
आफैंमा भइ मानवीय सबले जाती छ बस्नै घर ।।

मान्छेको अब भोक नै जहर हो भोका सबै जर्जर
जोहो छैन कुनै यहाँ विपदमा प्रयत्न के गर्नु र ।
स्वीकार्नै छ सहर्ष यो मनुजले सङ्घर्षको सागर
आफैंमा भइ मानवीय सबले जाती छ बस्नै घर ।।

जुट्दैछन् युगवीर यो विपदमा खोज्दै सुधा अमृत
ज्वालाग्नी सरिको विशाल जगमा पर्‍यो त लौ आपत।
पार्नै तत्पर झैँ छ यो जगतमा मान्छे सबै थर्थरी
यो बेला नरले उठेर जगमा आफैं जुटौँ बेसरी ।।

लौ कस्तो विकराल स्वरुप छ यो सर्दैछ आकारमा
घुम्दै लौ अति कष्टकारक भयो बड्दैछ सन्सारमा
बूढाबृद्ध मरे दबाइ नहुदा रोगी बिरामी पनी
आयो बिश्व सबै विनास हुनगो कोभीड नामै भनी ।।

पाइँदैन गुहार मर्न पनि लौ हुन्नन् यहाँ सारथी
यस्तो सङ्कटमा नथाक मनुवा केही बनी साहसी ।
गोला, बारुद ,अस्त्र ,शस्त्र धनले छोपेर पो यो धरा
लालाबाल सहस्र चञ्चल गला बन्दैछ है पिञ्जडा।।

फेर्दै छन् कति स्वास हिम्मत गरी बेचैन सन्त्रासमा
यस्ता सङ्कट धान्न रुग्ण मनले हुन्नन् निराधारमा ।
बाँच्ने आस हिमालका चरणमा सम्झेर हे ईश्वर
आफैंमा भइ मानवीय सबले जाती छ बस्नै घर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button