
डा खगेन्द्रप्रसाद दहाल
(छन्द) मन्दाक्रान्ता
रित्ता हाम्रा घर र टहरा बृद्ध बस्ने छहारी
बर्खा लाग्यो तपतप चुही बस्दछन् आस मारी
छोराछोरी परपर पुगी छन् उनै वेदनामा
वर्षाजस्तै अविरल झरी बग्छ आँखाहरूमा ॥
यै माटोमा अझ कति कठै १ कष्टका रात काट्छन्
पेटीलाई प्रिय घर भनी घाम पानी सहन्छन्
के हो सत्ता प्रगति कुन हो हेर्छ को ती बरामा
वर्षाजस्तै अविरल झरी बग्छ आँखाहरूमा ॥
माया फुल्छन् तर विरहमा जेलिँदा जातपात
वैली झर्छन् पुलकित नभै भेद छन् खातखात
हाम्रा प्यारा श्रम र पसिना छन् समस्याहरूमा
वर्षाजस्तै अविरल झरी बग्छ आँखाहरूमा ॥
(डा दहालको फेसबुकबाट )


