स्वास्थ्य

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुग्यो

१८ असार २०७७

ललितपुर । नेपालमा थप ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र १०९ महिला गरी कुल ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएकाछन् ।

यो संख्या सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । तीमध्ये एक हजार ८८३ महिला र १२ हजार ६३६ पुरुष छन्। डा गौतमका अनुसार अहिलेसम्म पाँच हजार ३२० जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना उपचारपछि घर फर्किएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ५३७ जनाको परीक्षण भएको छ ।

शिशुको मृत्युसँगै मृतक ३१ पुगे

यसै बीच कोरोना भाइरस सङ्क्रमणबाट आज एक शिशुको मृत्यु भएको छ । म्याग्दी जिल्ला धवलागिरि नगरपालिका–४ स्थायी बसोबास भएको ४९ दिनको ती शिशुको बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

लामो समयदेखि स्वास्थ्यमा समस्या भएपछि ती शिशुलाई यही असार ९ गते ती अस्पतालमा भर्ना गरिएको थियो । उनीसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप ३२ जना कोरोना पुष्टि

यसै गरि काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २८, भक्तपुरमा दुई र ललितपुरमा दुई गरी ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरका दुई पुरुष र ललितपुरका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button