
कविता
नारायणप्रसाद निरौला
अल्प प्रयोग छन्द द्रुतपद
कहरमा छ सब प्राण अडेको
जहर झन् कति छिटो छ बढेको।
डर र त्रास मन भित्र पलायो
हृदय भित्र सब भ्रान्ति चलायो।
बिष सबै शहर भित्र अब आयो
विकल छन् जन पराजय छायो।
मथित साथ नडराइ उदायो
बिजय पाउनु थियो कति पायो।।
समन हुन्छ कहिले अब भ्रान्ती
दमित बन्छ अब आउँछ शान्ति।
दिन बिते कति यहाँ सब खालि
प्रलय घात सरि धोइ पखालि।।
जकड बन्द गरि धाक जमायो
अकल साथ निमिट्यान्न गरायो।
विमलता अब गएछ बिलायो
मनुज ज्ञान किन आज हरायो।।
बिफल भो सब तमाम दबाइ
पकड आज उसकै छ बिजाइँ।
जगत ढाक्छ कति गन्ध फिँजाइ
रगत चुस्छ अति डङ्क लगाइ।।
✍️ २०७७,०४,३१, न, भ, ज, य, ७ मा बिश्राम
(निरौलाको फेसबुकबाट साभार)


