
गजल
आज किन वनजंगलमा कोइली कराउँदैन
आफ्नै विवेक मलाई किन राम्रो अराउँदैन ।
आशाको दियो धिपधिप गर्न छोड्ला जस्तो भयो
स्वाभिमानको झण्डा किन फरफर फराउँदैन ।
जतिसुकै पसिनाले यो देश सिञ्चित गर्दा पनि
आफ्नो घरको दुःख किन कहिल्यै हराउँदैन ।
माटोकोनै दोष हो कि हाम्रो हातसाथ सधै रूखो
कति मलजल गर्दा किन बिरूवा लहराउँदैन ।
सधै कष्ट मात्र पाउने भाग्य दोषी ठान्ने हामी
नेपालीलाई विधाताले किन खुशी भराउँदैन ।।


