सृजनाको चौतारी

प्रा.डा.जगदिशचन्द्र भण्डारीका दुई कविता

१. घिन २. यतैकतै

 

१. घिन
उसलाई
लगातार थुक्छु
घिनाउँछु
धारेहात लगाउँछु

घेर्छु
दर्शनबाट
बाँध्छु
विचारबाट
हुतिहारा
भगुवालाई

मैले
सङ्घर्ष
र आन्दोलनमा
कमाएका
मुक्ति गर्भित
शब्दहरु
गरुङ्गा भएका छन
अपवित्र
अस्पृश्य
भयानक
भएका छन
बेकुफ
गद्दार र
दलालहरुलाई

त्यसको
मस्तिष्क
त्यसको
विवेक
खुम्चिदै
खुम्चिंदै
गएको छ
सुक्दै गएको छ

उसका
इतिहासप्रतिका
अपराध
मुक्तिप्रतिको
अक्षम्य
मजाकलाई
आगोमा बालेर
उडाउँछु
थुक्छु
फेरि पनि
घिनाउँछु

हजार बार
अर्थात
जीउँदो
हुँदासम्म
मानिसहरूलाई
सुनाउँछु

घिनाउँछु

२. यतैकतै

यिनै अग्ला अग्ला
पहाडका
टाकुरामा
जङ्गलमा
नदी र यसका
बगरमा
गोठ र झुपडीमा
तराईमा
हिउँ चुलीमा
मुक्तिको सपना
अङ्कित छ

तिमीले
माया गरेर
सुदूर अतीतबाट
काँधमा बोकेर
ल्याएको तारा
अर्थात सपना
बिच बाटोमै
अलपत्र पारेर
खाल्डामा
हुत्त्याएर जाने
ए बेमानी !
हेर !
तैंले छोडे पनि
ब्युँझेर उन्मत्त हावा
सङ्गै
हामीतिरै
आइरहेछ
विद्रोहको घन्टी
बजाउँदै
सहर गाउँ
घुम्दै
फेरि
अर्र्काे घाम
जन्माइ रहेछ

हेर
यो छालामा
यो जिभ्रोमा
यी आँखामा
त्यसकै
सुगन्ध
टाँसिरहेछ

तँ
बिर्सिदै जा
हामी
त्यसकै
गीत गुनगुनाउँदै
रिस बढाउँदै
चट्टान झैँ
छाती बनाई
मुक्तिको नक्सा
आकाशमा टाँसेर
अथकित यात्रा
हिडिरहन्छौं
कहिले
उड्छौं
कहिले
धर्र्ती टेक्छौं
सामथ्र्ययुक्त
पागल विद्रोही
बनिरहन्छौं

मुक्त सपना
बोकेर
प्रेमको गीत
गाइरहन्छौं
आँधी र तुफान बनी
जुधिरहन्छौं

 २०७७ कार्तिक २/moolbato.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button