स्वास्थ्य

सरकार, स्वास्थ्य र संक्रमण

२०७७ कार्तिक ४

हाल देश कोरोना संक्रमणबाट आक्रान्त बनेको छ। यस महामारीको अवस्थामा पनि सरकारले स्वास्थ्य क्षेत्रमा प्रभावकारी योजना तथा कार्यक्रम ल्याएको देखिंदैन। स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्नका लागि न्यूनतम शर्तको सुनिश्चितता तथा स्वास्थ्यकर्मीको कामको हौसलाप्रति सबै तहका सरकार तथा जिम्मेवार पदाधिकारीहरुको ध्यान गएको देखिँदैन। मानौं, उच्चपदस्थहरुको यो समस्या नै होइन।

संविधानका २, ३ वटा धारामा स्वास्थ्यका कुरा लेखिदिए पुग्यो भन्ने छ। स्वास्थ्य समस्यालाई गहन रुपमा नलिएको यथार्थ प्रष्ट रहेको छ। यस्तो विषम परिस्थितिमा पनि स्वार्थ भावनाबाट काम हुनु लज्जाष्पद विषय हो र आफ्नै छातीमा छुरा रोप्नु जस्तै हो। प्राथमिकताका आधारमा न्यायोचित र पारदर्शी लगानी नहुनुले नै राष्ट्रको उन्नति फलदायी ढंगले भएको छैन।

विश्व स्वास्थ संगठनका अनुसार स्वास्थ्यको लागि कुल बजेटको कम्तीमा १० प्रतिशत नघटाई स्वास्थ्यमा विनियोजित हुनुपर्ने हो तर स्वास्थ्यको महत्त्व यिनीहरुलाई कसरी बुझाउने? स्वास्थ्य क्षेत्र विकास एउटा अभिन्न अङ्ग हो भन्ने चेतना कहिले आउने हो? यी सबै कुराको विश्लेषण गर्दा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रले लगानीको लागि सन्तोषजनक स्थान नपाएको हो जस्तो लाग्छ।

अथाह लागानी, न्यून प्रतिफल विधिमा रुमलिएको नेपालको स्वास्थ्य प्रणाली जहाँ कोरोनाभन्दा खतरनाक भाइरसको संक्रमणले ग्रस्त भएको छ। एकअर्काबीच दोषारोपण गर्नु, जिम्मेवारी र कर्तव्यबाट पन्छिनु, आफ्नो क्षमता प्रदर्शन गर्न नसक्नु, राजनीतिक दबाब, काम गर्ने स्वतन्त्र वातावरण नहुनु, अधिकारमा हस्तक्षेप, कर्मचारीलाई हिंसा र निरुत्साहित गराउनु, अरुको अस्तित्व र मर्यादा ख्याल नगर्नु, अझै पनि एकलौटी शासन लागू गर्न खोज्नु, जनमतको कदर नगर्नु, पीडा, समस्या र दु:खलाई मन मस्तिष्कमा भिजाउन नसक्नु यी यावत् घृणित हर्कत तथा व्यवहारले नै काम गर्ने जोस र जाँगर आउँदैन।

लाखौं प्रयास गर्छु तर म सक्दिनँ आफ्नो जिम्मेवारी र कर्तव्यबाट भाग्न। अनि गर्छु भन्दाभन्दै पनि सरोकारवालाले साथ, सहयोग र हौसला दिन कन्जुस्याइँ गर्नाले हार खान बाध्य हुन्छु। सायद अधिकार आफ्नै, हतियार आफ्नै भएर होला हाम्रा त बोली र शब्दहरु पनि मरुभूमिमा छटपटाउँदै गरेका महसुस हुन्छ।

विकास कम, निकास ज्यादा, वर्षेनी लाखौं-करोडौं पैसा एउटै बाटोमा खर्च गर्न पछि पर्दैनन् यहाँ तर तिनीहरुलाई जस्तै गरी अपार पीडा खेप्दै कसैलाई नयाँ संसार देखाउन छटपटाइरहेकी सुत्केरी आमालाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन एम्बुलेन्स, आवश्यक पर्ने औषधि, सहज सेवाप्रवाहको लागि उपकरण अनि दक्ष जनशक्तिको व्यवस्था गर्न हजार पटक सोच्नुपर्छ। बजेट खोज्नुपर्छ, कसैको अनुदानको पर्खाइमा बस्नुपर्छ यहाँ। के घरघरमा सिंहदरबार भनेको यही हो? त्यसैले होला यहाँ साँच्चिकै बिरालोहरुले आफ्नो अधिकारको दुरुपयोग गर्दै सिंहको संज्ञा आफैंलाई दिएर कमजोरहरुको सिकार गरेका।

स्वास्थ्य क्षेत्र एक आकस्मिक क्षेत्र हो। त्यसैले भइसकेपछि गरौंला भन्दा पनि हुनु अगाडि नै तयारी हुनुपर्छ भन्नेमा सबैले ध्यान दिनुपर्छ। अन्यथा एउटा सानो कमजोरीले नै धेरै मान्छेको ज्यान समेत जान सक्छ।

भौगोलिक विकटता र पहुँचबाट बन्चित डोल्पाजस्तो विकट समुदायहरुमा अझै पनि कतिपयले अकालमै ज्यान गुमाइरहेका छन्। लाखौं पैसा खर्चेर आधारभूत वा स्तरीय स्वास्थ्य सेवाको लागि हेलिकोप्टरमा बिरामीको ओसारपसार तथा उद्धार हुन्छ। स्वास्थ्यमा लगानी गर्न नचाहनेले नै भन्ने गरेको हुन्छ, सुविधा भएन, राम्रो उपचार भएन। तिनै सम्पन्न मान्छेहरु नै सामान्य उपचारको लागि पनि सहरका ठूलाठूला अस्पतालमा उपचार गराउँछन्।

हुन त आफूलाई पर्दा जस्तोसुकै उच्च अस्पतालमा पनि सेवा लिन कालो होस या गोरो धनले सक्षम ठानेर नै होला अरुको पर्वाह नभएको। यो सेवा मेरो लागि पनि हो, जिम्मेवार व्यक्ति भएकोले गुणस्तरीय सेवाको सुनश्चितता मैले नै गर्नुपर्छ भन्ने भावना सम्बन्धित सबैमा पैदा हुन अत्यन्तै आवश्यक छ।

समृद्धि सबै क्षेत्रको विकासबाट नै हुन्छ, तर समग्र दिगो विकासका लागि समावेशी लगानीबाट मात्र लक्ष्य प्राप्ति सम्भव छ। सहजता, शुसासन र समृद्धिको लागि संघीयता परिकल्पनाका साथ स्थापित भए तापनि परिकल्पनामै सीमित रहनेमा दुई मत छैन। यहीबीच केही उदाहरणीय तह तथा निकायहरु पनि छन्, उहाँहरुले स्वास्थ्यमा गरेका कार्यको सम्मान गर्नैपर्छ जसबाट सबैले पाठ सिक्न जरुरी छ।

हुन त, ती विद्वावान कहलाउने महारथीहरुले नबुझे र नपढे पनि सुनेकै होलान्, मान्छेको जीवन अमूल्य हुन्छ भनेर। तर किन मनन् गर्न नसकेका होलान्। थोरै लगानी गर्दा कसैलाई जीवनदान मिल्छ भने त्यसतर्फ लगानी गर्न महासयहरुको हात किन काँपेको होला? चुनावको भाषणमाझैं शब्दहरु किन नफुटेको, स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई किन बुझ्न नसकेको भन्ने प्रश्नहरु उब्जनु स्वभाविक ठान्दछु।

अनि यी प्रश्नैप्रश्नलाई एकातिर थन्क्याउँदै, आफ्नो सोच र लक्ष्यलाई अर्कातिर थन्क्याउँदै, परिवार, आफ्नो खुसीलाई बेवास्ता गर्दै, चुनौती र समस्यासँग सामना गर्दै, अरुले त भन्लान् कालोलाई गोरो, गोरोलाई कालो तर यथार्थ र वास्तविकता सम्हालेर विश्वासिलो हातले हातेमालो गर्ने प्रयास गर्दै, यी मेरा सदैव अग्रसर पाइलाहरुलाई खाली खुट्टा नै भए पनि, काँडाकै बाटोमा भए पनि अघि बढाउने छु, किनकी म एक राष्ट्रसेवक हुँ। म मेरो खुसी र सुख गुमाउन सक्छु तर मलाई थाहा छ, मेरो अस्तित्व, स्वाभिमान र सन्तुष्टिलाई बचाउन सदैव अपार कोशिस गर्नेछु।

(डाँगी ठुलीभेरी नगरपालिका, डोल्पास्थित जुफाल स्वास्थ्य चौकीका प्रमुख हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button