खेलकुद

एएफसी कपका लागि टिकट दर तय

चैत २०, २०७७

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप २०२१ अन्तर्गत दक्षिण एसिया प्रारम्भिक छनोटको प्लेअफमा त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टस क्लबको सामना गर्दैछ ।

दशरथ रंगशालामा हुने खेल चैत्र २५ गते हुनेछ । आर्मीले पत्रकार सम्मेलन आयोजना गर्दै खेलको लागि टिकट दर तय गरेको छ । साधारण तर्फ ३ सय रुपैयाँ र भीआइपी तर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ । खेल दिउँसो ३ बजे हुनेछ ।

आर्मीले हाल टोलीका सम्पूर्ण खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । मोफसलमा भने आर्मीले आफ्नो दोस्रो टोलीलाई पठाएको छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट २३ खेलाडी अन्तिम छनोटमा पर्नेछन् । राष्ट्रिय टोलीमा रहेका गोलरक्षक विकेश कुथु र फरवार्ड भरत खवास टोलीमा फर्किसकेका छन् ।

एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समुह ‘डी’ मा रहनेछ । आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ । पहिलो खेलमा आर्मीले श्रीलंका पुलिसलाई पराजित गरे दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ ।

बेंगलुरुविरुद्ध खेल भने १४ अप्रिलमा गोवास्थित जीएमसी रंगशालामा हुनेछ । उक्त खेल जितेमा आर्मीले २१ अप्रिलमा प्लेअफ फाइनलमा खेल्नेछ । प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटीली माल्दिभ्समा खेल्नेछन् । उक्त खेलको विजेताले अबहानी लिमिटेड ढाकासँग बंगलादेशमा खेल्नेछ । उक्त खेलको विजेताले अर्को पोलको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको समूह डीमा दक्षिण एसियाका ४ टोली समावेश हुनेछन् । प्लेअफबाट १ टोली छनोट हुँदा तीन टोलीको स्थान भने पक्का भइसकेको छ । भारतबाट एटिके मोहुन बगान, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्स घरेलु लिगको स्थानका आधारमा समूहमा स्थान बनाउन सफल भएका हुन् ।

समूह चरणका खेलहरु १४ मे देखि सुरु हुनेछ । प्लेअफका छनोट भने ७ अप्रिलदेखि नै सुरु हुनेछन् । आर्मीले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि लिग च्याम्पियन मछिन्द्रको स्थानमा एएफसी कप खेल्न पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button