सृजनाको चौतारी

इतिहासको यस घडिमा

कविता

२०७७ चैत्र २८
– –गौरी देवकोटा

(शीर्षक श्रद्धेय कृष्ण सेनको)

इतिहासको यस घडिमा
पल्टाइरहेछु जनादेशका
ब्ल्याक एण्ड ह्वाइट पत्रहरु
हेरिरहेछु एकोहोरिएर
भिडन्तको फायरिङले
छियाछिया सतिसालका आङहरु
अनगिन्ति भ्वाङ लिएर पनि
इमान्दार सिपाहीझैँ उभिइरहेकै छन्

अर्को कासन पर्खिएर ।

तर बिडम्बना
इतिहासको यस घडिमा
तिनै सतिसालले जोगाएका
कयौँ कमाण्डरहरु
मच्ची मच्ची भाषण गरिरहेछन्
जाज्वल्यमान सिंहासनबाट
धनमोर्चा र डनमोर्चाहरुमा
प्रष्टसँग देखिरहेछु
ताली पिटिरहेका
बृहत्तर मास र
हो मा हो मिलाउँदै
सति गइरहेका रङ्गीन लाइनहरु ।

इतिहासको यस घडिमा
कोही हाँस्दै नाच्दै गइरहेछन्
कोही रुँदै चिच्याउँदै गइरहेछन्
आखिर जानेहरु
जसरी गएपनि सति गइरहेछन्
सतिसालहरु
आफ्नै जरामा उभिइरहेकैछन्
सामाजिक विरुपता विरुद्ध
प्रतिरोधहरु सुसेल्दै
इतिहासको यस घडिमा
अर्को कासन पर्खिएर
सतिसालहरु उभिइरहेकै छन्
जानेहरु गइरहेकै छन्
इतिहासको यस धडिमा ।
(कविको भरखरै प्रकाशित ‘प्रतिरोध’ कवितासङ्ग्रहबाट – सं.)moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button