
लघुकथा
चतुरे काकालाई धान रोप्न निक्कै चटारो पर्यो । गाउँमा युवा जनशक्ति नभएका कारण खेताला नपाउने । बल्लतल्ल गोरू जुटाएर बाझो जोत्नेदेखि रोपाइँसम्म गर्ने ठेक्का काकाले निकै महंगोमा दिए । पल्ला गाउँको माइलाले खेत हिल्याउने सम्मको काम सक्यो । काकाले कसोकसो साइलालाई फकाएर आली लगाउन लाए । पानीको निक्कै अभाव भएपनि बेलुकीपख सम्ममा आधा खेत भराएर काका घरतिर लागे ।
उता दलमानले आफ्नो खेतमा भोली हिल्याउने गोरू त बल्लतल्ल जुटायो तर आकाशे पानी पनि नपरेको कुलामा पनि पानी कम देखेर दलमान आत्तियो । भोलीलाई गोरू त पाइयो तर पानी नपुगेर मेलो रहने हो कि , बेलुकीपख उसले जुक्ति निकाल्यो ( काकाको खेततिर गइरहेको पानी कुलो खनेर आफ्नो खेतमा झार्यो र घर गएर ढुक्कसँग सुत्यो ।
रोपाइँको बिहान काका खेतमा जाँदा हिलो सुकेर बर्बाद । के भयो त काकाले राम्ररी नियाले पानी जति दलमानको सिरानको गराको पल्लो छेउबाट छिरेर खै कता निस्क्यो गइरहेको छ । काकालाई बहुत रीस उठ्यो । दलमान सहित छरछिमेकी भेला भए,छलफल भयो ।दलमानले सबैको गाली पायो तर मनमनमा सोच्यो ( मैले पल्लो छेउमा छिँड परेको देखेर थुनेको भए त मेरो खेत भरिने थियोे कस्तो खतम भएछ ।
काका एकोहोरो दलमानलाई कराइरहेका थिए ,दलमानले नबोली पानी काकाको खेततिर सोझ्यायो । पानी सोझ्याएपछि काकाको पनि रीस अलिक मरेछ क्यारे , भैगो अब आइन्दा यसो नगर्नु आज असार पन्ध्र सबै हिड मेरो घरमा दहीचिउरा खान । काका अघि लागे अरू छिमेकी पछि हुदै दलमानले अन्तिममा पछ्यायो । सबै काकाको घरमा दही चिउरा खान थाले । यता आकाश मडारिएर पानी पर्न थाल्यो । सबै आफ्नो मेलातिर लागे । बेलुकीपख काका आफ्नो रोपाइँ सकेर दलमानको खेततिर लागे ( भाइ खेत हिल्याएर सकिस त?दलमानले उत्तर दियो—सकेँ काका सकेँ ।


