
धुपौरेहरूले बाजीमार्न
दौडधुप गर्दैगर्दा
समय अनुसार अवसरवादका
मलामीहरू
चिप्लो कुरा गरेर जदौ गर्दै
सती जाँदै गरेको पनि भेटियो।
आफ्नै शक्तिले उज्यालो छर्दै गरेको
दियो निभाउन
घिउको घैँटो घोप्ट्याएर
बाती फेर्नेहरूको लर्को पनि देखियो।
मूल खाँबोमा
आगोको लप्को दन्काएर
वेदास्तुति गर्दै चरू
होम्नेहरू पनि देखियो
माथमा तिलक लगाएर
गाइनेले सारङ्गी रेटेझैँ
निषेधको बाँसुरी बजाउदै
पण्डित बाको वरिपरि
सतबीउ छर्नेहरू
थोरै आगतलाई पर्खेर हेर
सूर्य उदाउन पनि कालो रातलाई चिर्नुपर्छ
पूर्णचन्द्र हेर्नपनि पुर्णिामा आउनु पर्छ
ऋतुहरू पनि समय अनुसार नै परिवर्तन हुनेगर्दछन् !


