खबर

फेरि बन्द भयो सदर चिडियाखाना

काठमाडौं
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ६ महिनापछि हिजो आइतबारबाट बन्द गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो ।

सदर चिडियाखानाका प्रमुख रचना शाहले चिडियाखाना केही दिनका लागि बन्द गरिएको जानकारी दिइन् । उनले भनिन् ‘पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी दैनिक रूपमा खोल्ने तयारी गरेका थियौं, जिल्ला प्रशासन कार्यालयले एक साता बन्द गर्न निर्देशन दियो ।’

उनले स्वास्थ्य सावधानी अपनाएर चिडियाखाना खुला गरे पनि उपत्यकामा संक्रमितको दर ह्वात्तै बढ्न थालेपछि एक सातापछि पुनः खोल्ने गरी हाललाई बन्द गरिएको बताइन् । कोरोना कहरका कारण अघिल्लो वर्ष करिब ९ महिना बन्द भएको चिडियाखाना साउन १ गतेबाट खुला गरिएको थियो ।

आर्थिक अभावका कारण चिडियाखानाका वन्यजन्तुलाई स्याहार्न समस्या परेको बेला पुनः बन्द भएपछि सञ्चालन खर्च जुटाउन थप समस्या पर्ने प्रशासनको भनाइ छ । पछिल्लो समय दैनिक करिब ३ हजार अवलोकनकर्ता चिडियाखाना आउने गरेका थिए ।

पछिल्लो दुई सातायता ओमिक्रोन भेरियन्ट व्यापक रूपमा फैलन थालेपछि अवलोकनकर्ताको संख्या घटेर दैनिक करिब ५ सयको हाराहारीमा झरेको थियो । नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button