सृजनाको चौतारी

पृथ्वी, तिम्रो र मेरो बराबर हुनेछ !

– सुमनसिंह पौडेल

 

मैले क्रान्ति खोजेँ
त्यो पाउने बाटो रोजेँ
मेरो गन्तव्य….
मलाई पूरा विश्वास छ !

एक दिन अँध्यारो आकाश फाट्नेछ
धर्ती उज्यालो बन्नेछ
विभेदहरूका कपटी दुनियाँ
सदासदाका लागि निभ्नेछन्

तिमी दलित बन्नु पर्दैन
तिमी गरिब भैरहनु पर्दैन
दमित बनिरहनु पर्दैन कहिल्यै
तिमी कसैबाट हेपिनु पर्दैन
तिम्रो दुनियाँ..
हामी सबैको साझा दुनियाँ बन्नेछ
सबै कुरामा समानता हुनेछ

यो घाम साझा हुनेछ
झरी, बर्सात् भनौँ वा खहरे खोला
नदी, तलाउ सबै हाम्रो साझा हुनेछ
जङ्गल, खनिज र यो पृथ्वी
तिम्रो र मेरो बराबर हुनेछ…
हो, त्यसैले
मैले क्रान्ति खोजेँ

केही लिच्चड, भुस्याहाहरू
कुरा चिप्ला गर्ने घुस्याहाहरू…
सडकमा हात थापेर हिँड्ने
गरिबलाई थुकेर हिँडिरहेका छन्
उपचारको अभावमा
अस्पतालमा रोइरहेका आफन्तहरूको आँसु
अझ जोडजोडले लुटिरहेका छन्
छोरीचेली बेचेर आफू मस्त बनिरहेका छन्
गरिबका झुपडीहरूमा डोजर लगाइरहेका
छन्
चारैतिरबाट देश लुटिरहेका छन्
आगोमा छ देश …..

हो ! मेरा आफन्तहरू हो
तिमी कतिन्जेल सडकमा मागेर मात्र हिँड्छौ
कतिन्जेल मालिकबाट लुटिन्छौ
कहिलेसम्म तिनै झुपडीहरूमा बस्छौ ?
कहिलेसम्म यसरी नै छट्पटिन्छौ
अब त आऊ न
यो क्रान्तिमा सँगै हिँडौँ
अत्याचारी सत्ताविरुद्ध सँगै लडौँ
दुनियाँलाई यस्तो सन्देश दिऔँ…
मजदुर साँच्चिकै दुनियाँ निर्माता हो
किसान साँच्चिकै दुनियाँको विधाता हो
मेरा आफन्तहरू हो,
आऊ एकपटक बलिदान गर्ने शपथ गरौँ
उन्मुक्त विश्व निर्माणका निम्ति…

२०७६, १७ आश्विन शुक्रबार ०८:२६ ई–रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button