स्वास्थ्य

नेपालमा करिब ६० प्रतिशत वयस्क र ४५ प्रतिशत अन्य समूहका व्यक्ति क्षयरोगबाट संक्रमित

लक्ष्मी उप्रेती

मेचीनगर ÷ ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔ, जीवन बचाऔँ ’ भन्ने मुल नारासहित विहीबार झापाको मेचीनगरमा विश्व क्षयरोग दिवस २०२२ विविध कार्यक्रमका साथ मनाईएको छ ।

मेचीनगर नगरपालिकाको स्वस्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरको १० नम्बर वडामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीका विरामीहरुलाई फलफूल वितरणदेखि क्षयरोगबाट बच्ने सम्मका उपायका बारेमा चर्चा गरिएको थियो ।

शाखा संयोजक सविता सापकोटा निरौलाका अनुसार प्रमुख अतिथि वडा नम्बर १० का वडाध्यक्ष सुदय पनेरुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका विरामीलाई फलफूल वितरणसहित क्षयरोग सम्बन्धि अन्तरक्रिया र टिबी फ्रि नेपाल अभियान २०७८ अन्तर्गत टिबी फ्रि पालिका अभियान अन्तर्गत मेचीनगर नगरपालिकालाई क्षयरोगी मुक्त नगरपालिका घोषणा गर्न सवैले लागि पर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।

दुई हप्ता वा सो भन्दा बढी खोकी लागेमा क्षयरोग हुने सक्ने भएकाले तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउन, कम्तिमा ६ महिनासम्म लगातार स्वास्थ्य संस्थामै गएर उपचार सहयोगको प्रत्यक्ष निगरानीमा औषधि सेवन गरेमा क्षयरोग पूर्णरुपमा निको हुने तथा क्षयरोगको सेवा तथा उपचार सवै स्वास्थ्य संस्थाहरुमा निःशुल्क हुने स्वास्थ्य संयोजक निरौलाले जानकारी दिएका थिए । उनले क्षयरोग अन्त्यका लागि हामी सवै एकजुट हुन समेत आग्रह गरे ।

क्षयरोग अहिले जनस्तरमा निक्कै जटिल समस्याका रुपमा देखिएको र यो धेरै पुरानो रोग भए पनि अझै नियन्त्रण गर्न नसकिएको तथा नियन्त्रण बाहिर रहेको समेत उनले बताए । अहिले पनि समाजमा निक्कै क्षयरोगी छन् । उनीहरु खुलेर उपचारका लागि आउने गरेका छैनन् ।

तौल घटनु , छाती दुख्नु, राती राती ज्वरो आउनु, खकारमा रगत देखिनु, श्वासप्रशवासमा समस्या हुनु दुईहप्ता सम्म लगातार खोकी लागि रहनु लगायत क्षयरोगका लक्षण भएको स्वास्थ्य शाखा संयोजक निरौलाको भनाई छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी २ वर्ष भित्र सवै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भए अनुसार चालु आर्थिक वर्ष भित्र मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्न नगरपालिकाले विभिन्न समिति गठन गरेको उनले बताए ।

चालु आर्थिक वर्षमा मेचीनगरसहित २२ वटा स्थानीय तहमा क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्ने सरकारको योजना छ । क्षयरोग मुक्त घोषणा अभियान सञ्चालनका लागि स्वीकृत निर्देशिकामा उल्लेख भए अनुसार नगरपालिकामा नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा नगर स्तरीय समिति र वडाअध्यक्षहरुको अध्यक्षतामा वडा स्तरीय समिति गठन गरिने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी गराइन् ।

डाक्टर पिताम्बर ठाकुरका अनुसार नेपालमा करिब ६० प्रतिशत बयस्क र ४५ प्रतिशत अन्य समूहका व्यक्ति क्षयरोगबाट संक्रमित छन् । डा ठाकुरका अनुसार कमजोर प्रतिरोधात्मक क्षमताका कारण शारीरिक दृष्टिकोणले कमजोर व्यक्ति क्षयरोगी संग बढी हेलमेल गरे सहजरुपमा यो रोग सर्न सक्छ । खकार, छाला तथा एक्स–रे बाट क्षयरोगका किटाणु पत्ता लाग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार क्षयरोगको सबैभन्दा खतरा फोक्सोमा किटाणु फेला पर्नु हो । यसबाट पत्ता लागेका क्षयरोगीले समयमै उपचार नपाए एकबर्ष भित्रमा उस्ले १० देखि १५ जना निःरोगीलाई यो रोग सार्न सक्छ । फोक्सोमा तथा खकार परिक्षणमा किटाणु नदेखिने भए पनि बिशेषज्ञहरुले मात्र शरिरका अन्य भागमा क्षयरोगका किटाणु फेला पार्ने गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button