
काठमाडौं । प्रारम्भिक रुझानमा केही महत्वपूर्ण ठाउँमा वागी र स्वतन्त्र हावी बने पनि क्षेत्रीय दलहरुको अवस्था चाहिं कमजोर नै हुने संकेत देखिएको छ । सत्तारुढ पाँच दलको गठबन्धनमा रहेको जनता समाजवादी पार्टीको मधेश प्रदेशमा उपस्थिति राम्रै देखिए पनि खस्कदो अवस्था नै देखिन्छ । जहाँ जहाँ चुनावी गठबन्धन बन्यो, जसपाको आफ्नै शक्ति सुदृढ भएको ठाउँमा परिणाम पनि सकारात्मक राम्रै आउने देखिन्छ । ऊ स्वतन्त्र लडेर जित्ने ठाउँमा एकदमै कम देखियो । लोकतान्त्रिक समाजवादी पार्टीको अवस्था त दयनीय नै देखियो । एमालेसँग कतिपय ठाउँमा गठबन्धन गरे पनि यो पार्टीको पक्षमा परिणाम सम्भावना न्यून देखिएको छ । सीके राउतको जनमत पार्टीले केही ठाउँमा उपस्थिति देखाए पनि यसको पनि दवाव र हस्तक्षेप गर्ने गरी मधेश प्रदेशमा देखिदैंन । एकीकृत समाजवादी पार्टीले कतिपय ठाउँमा प्रतिस्पर्धा गरे पनि प्रभावकारी उपस्थिति देखिदैंन ।
मधेश प्रदेशमा राष्टिय पार्टीहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको बीचमा नै बढी प्रतिस्पर्धा हुँदैछ । क्षेत्रीय पार्टी कमजोर हुँदा प्रदेश मधेसमा नेपाली कांग्रेस र एमालेलाई बढी लाभ हुने संकेत देखिएको छ । माओवादी केन्द्रलाई पनि विगतको भन्दा लाभ भए पनि माओवादी केन्द्रको मधेश प्रदेशमा नेतृत्व केन्द्रीकरण, संगठनात्मक व्यवस्थापनका कारण माओवादी केन्द्रप्रति जनआकर्षण भएर पनि धेरै लाभ लिनसक्ने सम्भावना देखिदैंन ।झिल्को डटकम



