
जनकपुरधाम
महोत्तरीको बर्दिबास नेकपा माओवादी केन्द्रको लालकिल्ला मानिन्छ। तर, यसपटक यहाँ स्वतन्त्र उम्मेदवारहरुले दबदबा कायम गरेका छन्।
बर्दिबास नगरपालिकाको पाँच वटा वडाको मतणना सम्पन्न हुँदा चार वटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा १, ७, ८, १३ र १४ मतगणना सम्पन्न हुँदा ८ बाहेक चारवटै वडामा जेब्रा छाप हाबी भएको हो।
यसरी माओवादीको लालकिल्ला भत्काउने कामको नेतृत्व गरिरहेका छन्, मेयर पदका स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीले। उनी नेपाली कांग्रेसले टिकट नदिएपछि उठेका बागी उम्मेदवार हुन्। निर्वाचित सबै स्वतन्त्र वडाध्यक्ष उनकै समूहका हुन्।
क्षेत्रीले मेयर पदमा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार राजु खड्काभन्दा दोब्बर बढी मतसहित अग्रता लिइरहेका छन्।
क्षेत्रीले ५ हजार १५३ मत ल्याएका छन् भने खड्काले २ हजार ३०६ मत मात्र पाएका छन्।
तेश्रो नम्बरमा नेकपा एमालेका उम्मेदवार डक बलम्पाकीले १ हजार ४८७ मत पाएका छन्।
त्यस्तै उपमेयर पदमा क्षेत्री प्यानलकै तारा देवीले ३ हजार ५५४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकै कृष्णमाया गौतमले २ हजार ११५ मत पाएकी छन्। एमालेकी दुर्गा दाहालले २ हजार मत ल्याएकी छन्।
नेपाली कांग्रेसले मेयर पदको टिकट क्षेत्रीलाई नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। कांग्रेसले यो नगरपालिकामा चिरञ्जीवी हमाललाई मेयर पदको टिकट दिएको थियो। तर जारी मतगणना परिणाममा उनी चौथो नम्बरमा छन्। उनको जमानत जफत हुने सम्भावना बढेको छ।
यो पालिकामा यसअघि नेकपा माओवादी केन्द्रले प्रमुख, उपप्रमुख र अधिकांश वडा जितेको थियो। यो पालिका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पाखरेलको गृहनगर तथा क्षेत्र हो।नेपालखबर



