विचार

के यथास्थितिका प्रवृत्तिहरू सच्चिएलान?

स्थानीय चुनाव सम्पन्न भएको छ। र, रोकिएका केही स्थानमा हुँदै पनि छ। परिणामको प्रारम्भिक रुझान अनुसारका ब्याख्या—विश्लेषणहरू शुरू भैसकेका छन्। मुल कुरो त, अघिल्लो ओली सरकारले संबिधान समाप्त पार्ने हेतु चालेका कदमले चुनाव जस्तो लोकतन्त्रको आधारभुत आवधिक प्रक्रिया समेत बिथोलिने खतरा थियो। आन्दोलन र अदालतको सुझबुझले ओली सरकारको बहिर्गमन भएसंगै यो सरकारले चुनाव निश्चित गर्न सक्यो। यो महत्त्वपूर्ण कुरा हो। मतगणनाको शुरूवाती रुझान हेर्दा कांग्रेस, एमाले र माओवादी केन्द्रको क्रमशः पहिलो, दोस्रो र तेस्रो हैसियत हुने देखिएपनि राजनीतिक अन्तरबिरोध र वैयक्तिक पुर्वानुमानको कसीबाट हेर्दा चुनाव परिणामले धेरै मानकहरूलाई भत्काइदिएको छ। सूचीगत रूपमा चुनावको संकेत र सन्देशलाई यसरी हेर्न सकिन्छ

एक, सरकार गठबन्धन र एमाले गठबन्धनबीचको चुनाव भनिएपनि चुनाव मुलतः पार्टीहरूको एक्लाएक्लै शक्ति परिक्षणको थलो बनेको छ। कांग्रेससंगको गठबन्धन बामपंथीहरूका लागि त्यति उत्साहजनक छैन। बरु त्यसले कांग्रेसलाई नै बढी फाइदा दिएको छ। सानो उदाहरणका लागि ललितपुर मेयर,उपमेयर र भरतपुर मेयर ,उपमेयरमा कांग्रेस र माओवादीले पाएको मत विश्लेषण गर्न सकिन्छ। ललितपुरका मेयर र भरतपुरका उपमेयर उमेदवारले प्रतिद्वन्द्वीसंग फराकिलो मतअन्तर बनाएका छन् भने, भरतपुरका मेयर उमेदवारलाई अग्रता टिकाइराख्न आच्छुआच्छु परेको छ। ललितपुरका उपमेयर त प्रतिद्वन्द्वीभन्दा निकै नै पछाडि छन्। यसोभन्दैमा गठबन्धनले परिणाम नै दिएको छैन भन्ने चाहिँ होइन। यसैपनि कांग्रेस र गठबन्धनका इतर पार्टीबीच सीमित तालमेल हो। सबैभन्दा धेरै तालमेल गरे भनिएका कांग्रेस र माओवादी केन्द्रबीच सात सय ५३ पालिकामध्ये एक सय १६ मा मात्र तालमेल हो। त्यसको परिणाम प्रवृत्ति त ललितपुर र भरतपुरले संकेत गरेकै छन्। जसरी एमालेले पाँचदलीय गठबन्धन भएर एक्लो एमालेसंग प्रतिस्पर्धा गरेका छन् भन्ने भाष्य निर्माण गर्न खोजेको छ, त्यो झुटो छ। त्यसोत तस् एमालेले पनि लोसपा, सिके राउत, नेत्रबिक्रम चन्द ुविप्लवु, कमल थापा, परिवार दल, जनमुक्ति पार्टी र गोबिन्दराज जोशीहरूसंग घोषित तालमेल गरेकै थियो। कतिपय ठाउँमा त कांग्रेस र जनता समाजवादीसंग समेत गरेको थियो। त्यसैले केही जोडघटाउलाई छाडेर हेर्दा यो चुनाव मुलतः दलहरूको आ—आफ्नै शक्ति परिक्षणको मंच बन्न पुगेको छ।

दुई, यो परिणामले पहिलो हुने देखाएपनि कांग्रेसको आफ्नै अन्तरबिरोध र स्थानीय आवश्यकता वा संभावनाको अन्देखाका कारण कांग्रेस अपेक्षित सफलता लिनबाट चुकेको छ। शेखर—गगनहरूलाई भन्न त सजिलो होला(कांग्रेसले हसिया हथौडा, कलम वा छातालाई भोट हाल्न गाह्रो छ भनेर हामीले त भनेकै थियौं। तर कांग्रेसका कयौं नेताकार्यकर्ता यति अराजक रहेछन् कि तिनले रुखमा समेत भोट नहाल्ने रहेछन्। स्वार्थपर्‍यो भने आफैं बागी उठ्ने, स्वार्थ नपरे एमालेलाई सघाएर भएपनि पार्टीलाई हराउने। गठबन्धनलाई हराउने। यसका लागि जनकपुर र बर्दीबासको उदाहरण काफी छ। जनकपुरमा गठबन्धनका जनता समाजवादी उमेदवारलाई हराउन कांग्रेसका स्वतन्त्र खडा छन्। भलै उनले चुनाव जित्लान् तर लोकतान्त्रिक कांग्रेसमा पार्टी निर्णयको धज्जी कसरी उड्छ भन्ने यो गतिलो सन्दर्भ हो। बर्दीबासमा त पार्टीको आधिकारिक उमेदवारबिरुद्ध नै बागी खडा छन् र हावी छन्। यसरी अराजकहरूलाई आन्तरिक महत्वकांक्षा जगाइदिने काम चाहिँ नेतृत्वबाट शेखर(गगनहरूले नै गरेका हुन्। आफैंभित्रको अन्तर्घात र गठबन्धनमाथिको अविश्वासले कांग्रेसको सफलतालाई नै कमजोर गरेको छ। तालमेल गर्ने भनेपछि मसक्कै आँटेर गर्ने, नगर्ने भए तालमेलको भ्रम मात्र नदिने( भोलिका लागि कांग्रेस नेतृत्वलाई गतिलो शिक्षा हो यो।

तीन, यो चुनावले कसैको शेखी तोडेको छ भने त्यो एमाले पार्टी हो। एमालेले पहिलाको तुलनामा बढी हार्‍यो भनेर होइन कि उसले जनमतलाई कसरी ओलीय चस्माबाट मात्रै हेरेर धारणा बनाउदो रहेछ भनेर। संविधान समाप्त पार्ने, पार्टी फुटाउने र तमाम पुरातनहरूलाई आफ्नो गठबन्धनमा ल्याउने ओलीको मुल्यांकन जनताले राम्ररी गरेको छ। महासचिव शंकर पोखरेलबाट चुनावमा धाधली भयो भन्ने जुन रोदन वक्तव्य जारी भएको छ, त्यो ओलीय चस्मालाई पुष्टि गर्न नसक्दाको फत्तुर मात्र हो। तर अझैपनि दोस्रो शक्ति हुनसक्ने जुन परिणाम एमालेको पक्षमा देखिएको छ, त्यो भष्माशुर ओलीका अर्थहीन उखान र ब्यक्तित्वले भन्दा बढी कार्यकर्ताको मिहिनेतले नै बनेको हो। एउटा सत्य केहो भने पार्टीका लागि यत्तिको खट्नेमा एमाले बाहेक अरुका कार्यकर्ता सायदै होलान्। उनीहरूले उठाउने बिकास(समाज सुधार मुद्दा र त्यसमा एनजीओ,आइएनजिओले खन्याउने स्रोतलाई एकछिन छाडेर हेरौं, तर देखिने पहलकदमी पनि छ, उनीहरूको। राजनीतिक लिगेसीमा उनीहरू केही कुराले कमजोर छन् भने अध्यक्ष ओलीका कारणले कमजोर छन्। धेरैलाई लाग्ला, अध्यक्ष ओलीको ब्यक्तित्वका कारणले त एमाले टिकेको छ।तर, होइन, आँसु पिएर कार्यकर्ताहरू ओलीको अतिसयोक्तिका लागि जनताबीच माफी मागिरहेका छन्। ुपरिवेशले आउने यस्तो हावा नेतृत्व त अल्पकालीन हो, पार्टी नै जीवन्त हो, पार्टी रहे पो हाम्रो राजनीति रहन्छु भनेर उनीहरू आज एमालेको साख बचाइरहेका छन्। ओली दम्भको चिरफार मात्र गरेर हेर्दा त दोस्रो शक्ति हुने हैसियत एमालेले गुमाइसकेको थियो।
चार, तेस्रो शक्ति हुने देखिएको माओवादी केन्द्रका हकमा भने मत रुझान अहिलेकै शैलीमा देखिँदा अघिल्लो चुनावको तुलनामा यो आंशिक सफलता हो। तर ,माओवादी नेताकार्यकर्ताहरू यति हुँदैमा उद्वेलित भैहाल्नु जरुरी छैन। बादल,टोप,लेख,प्रभु जस्ता केही अवसरवादी नेता र नगन्य कार्यकर्ताहरू ओलीको झोला बोक्न जादैमा माओवादी रित्तो भाँडो बनिसक्यो भन्ने ओली कति सतही चिन्तन बोकेर राजनीति गर्दा रहेछन् भन्ने चाहिँ महसुस भैराख्दा राम्रो। तालमेल प्रभावकारी भएको भए हामी अझ सफल हुनेरहेछौं भनेर माओवादी केन्द्रका नेताकार्यकर्ताले सोच्नु राम्रै हो। तर कांग्रेसले धोका दियो भनेर अर्को राजनीतिक शक्तिसन्तुलनका लागि नेतृत्वलाई दबाब दिनु मुर्खता मात्रै हो। यसैपनि निर्वाचनमार्फत नेतृत्व अनुमोदन जनताको छनौटको कुरा हो। पार्टी वा गठबन्धनको ह्वीप नेताकार्यकर्तालाई लाग्ला, जनतालाई लाग्दैन। जनता प्रभावित हुने त नेतृत्व गर्छौं भन्नेको व्यबहार कुशलताबाट हो। माओवादी केन्द्रका एकथरीले के मनोबिज्ञान निर्माण गर्दैछन् भने गठबन्धनमा धोका भयो, अब फरक तरिकाले सोच्नुपर्छ। हो धोका त भयो नै, सोच्न पनि फरक तरिकाले नै सोच्नुपर्छ, तर जनताको दुःख र मुद्दाको सहयात्री हुने तरिकाले। फरक तरिका भनेर कांग्रेसदेखि एमालेसम्म, एमालेदेखि कांग्रेससम्म मात्रै सोचियो भने त हुने यही हो। जितोस, हारोस अपेक्षानै नभएको ठाउँमा समेत यत्रो मत आएको छ। लोभिपापीका लागि त्यो मत आएको होइन। पार्टी र परिवर्तन आकांक्षाका लागि आएको हो। माओवादी केन्द्रलाई आफ्नो धरातल मजबुत गर्न पुरै मैदान खाली छररहेछ। नेतृत्वको ुगणेशु भएर क्रान्तिकारी भैराख्ने कि जनताको आवाज हुने? तालमेलको मजबुत धरातल आफैंसंग भयो भने त अरु पो तालमेल खोज्दै आउँछन् त? कतिपय हारलाई तालमेलको गडबडीसंग जोड्ने कि आफैंभित्र कारण खोज्नेरु उदाहरणका लागि महोत्तरीको बर्दिबास, चितवनको माडी र कंचनपुरको लालझडी पालिकाहरूलाई लिऔं। पहिले माओवादी केन्द्रले जितेका यी पालिकाहरू अहिले किन कांग्रेसका बागी र एमालेहरूको हातमा जाँदैछ? अध्यक्ष प्रचण्ड, नेता गिरिराजमणि र नेतृ बिना मगरले यो हारको जिम्मा लिएर पुनः जनमुद्दा केन्द्रित स्थानीय पार्टी बनाउन ध्यान दिने कि नदिने?अनि नेतृत्वलाई दबाबमा राख्न खोज्ने कार्यकर्ताहरू ०६४ स्तरको पार्टी बनाउन जुट्ने कि नजुट्ने?शहरी क्षेत्रमा यथास्थितिमा उठ्नैनसक्नेगरी गुमेको साख कसरी पुनर्स्थापित गर्ने भनेर सचेत हुने कि नहुने?

पाँच, यो चुनावले जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई भने नाङ्गो पारेर प्रस्तुत गरेको छ। अर्का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा मधेसमा पार्टीले प्रभावकारी उपस्थिति जनाइरहदा उनी भने गोरखाको पालुङटार मेयरमा जीवनमरणको लडाईं लड्न पुगे। हो, आफ्नो पक्षको हितहुने लबिङमा नेताहरू लाग्नैपर्छ। तर यतिसम्म लाग्नुपर्छ कि कट्टु खुस्किदै गरेको थाहा होस्। माओवादी केन्द्रलाई हराउन कांग्रेससंग लहसिएका बाबुराम, कांग्रेसले पत्यार नगरेपछि एमालेको शरणमा पुगे। गठबन्धन पार्टीबीच सके तालमेल, नसके मित्रवत प्रतिस्पर्धाको न्युनतम सहमतीको धज्जी उडाउने केन्द्रीय नेता उनै हुन्। पार्टीमा ठूलो हैसियत लिएपनि बाबुरामबाट कुनै चुनावी उपलब्धि जनता समाजवादीले पाउन गाह्रो छ। उनी राजनीतिमा उत्तरआधुनिक त थिए नै प्रवृत्तिमा पनि पुरै जुझारु अर्थवादी भैसकेछन्। स्वार्थका लागि जोसंग पनि मिल्ने। अब ओली र उनको राजनीतिक सम्बन्ध प्रगाढ भयोभने कुनै आश्चर्य हुनेछैन।

छ, एकीकृत समाजवादीले पनि हिजो आफुलाई बढी नै आँकेको यो परिणाम संकेतले देखाएको छ। माओवादीकेन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको कसिलो तालमेल बनाएर चुनावमा जाने, कांग्रेससंग पनि त्यही हैसियतमा आवश्यक ठाउँमा तालमेल गर्ने,यो भन्दा बुद्धिमानी तरिका अर्को के हुन्थ्यो? जानकारीमा आएसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यो प्रस्ताव राख्दा माधव नेपाल र उपेन्द्र यादवले खासै चासो दिनुभएन। तर आफ्नो शक्ति सन्तुलन अनुसार एकीकृत समाजवादीले जुन हैसियत कायम गर्ने देखिएको छ, ओली प्रतिगमनपथका लागि यो एक झड्का नै हो भने बामपंथी मत र नेतृत्वको एक प्रभावकारी सन्चय हो।

सात, काठमाडौं महानगर र कतिपय ठाउँमा स्वतन्त्र र बागीहरूको मजबुत उपस्थिति देखाएर अब जनताले भएका दलहरूको विकल्प खोजे भन्ने जुन चेत खासगरी राजावादी तप्काबाट निर्माण गर्न खोजिएको छ, यो सर्बथा खारेजयोग्य छ। तिनको तर्कभित्र पुरानो बिरासत लुटिएको आक्रोश त छ नै, त्यही बिरासत फर्काउने छट्पटी पनि छ। तर जनता त तिनका साथमा छैन। जनता नभएपछि यस्तै स्वतन्त्र र बागीहरूलाई देखाएर आफ्नो स्वार्थपरक अन्दाजा गर्नेहुन् तिनीहरूले। राप्रपामा लिङ्देन ल्यायौं, अब चुनावबाटै दोस्रो पार्टी हुन्छौं भन्नेहरू पनि तिनै हुन्। जनताले पुरातन बिकल्प खोज्ने भए त राप्रपालाई पो अनुमोदन गर्नुपर्ने। देशब्यापी संरचना भएको, राजा र हिन्दुत्वको ब्यबस्थित योजना बोकेको पार्टीलाई छाडेर जनता किन स्वतन्त्र र बागीतिर लाग्थे ररु स्वतन्त्र भन्नू एक अल्पकालीन ह्वीम हो। तर यसले देश बनाउछौं भन्ने पार्टीहरूलाई जनसरोकारबाट टाढा नजाउ भन्ने सन्देश त दिएकै छ। सच्चिन मौका दिएको छ।

अन्त्यमा, स्थानीय चुनाव अघि अब नेपालमा कांग्रेस र एमालेको तथाकथित दुईध्रुबीय राजनीति हुन्छ, बीचका माओवादी र समाजवादीहरू सकिन्छन् भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो। एमाले नेतृत्व र कांग्रेस निकटका बुद्धिजीवीहरूको त्यसपक्षमा ठुलोठुलो स्वर सुनिन्थ्यो। त्यो भाष्यलाई यो चुनावले पनि खारेज गरेको छ। बहुसांस्कृतिक, बहु राष्ट्रियता र बहु बिचार भएको देशलाई दलाल पुँजीवादको घेरामा सीमित गर्ने त्यो बिचार पतोन्मुख एमालेको असलियत हो। एमालेका इमान्दार नेताकार्यकर्ताले आफ्नो नेतृत्वको सिद्धान्त पतन र यस्ता बहुलठ्ठी तर्कलाई बेलैमा चिनुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button