खेलकुद

रोहितसम्मिलित केडिरीलाई ‘ट्रोफियो रोनाल्डिन्हो’ को उपाधि

एजेन्सी – नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले ‘ट्रोफियो रोनाल्डिन्हो’ मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मालाङस्थित कान्जुरुहान स्टेडियममा आइतबार भएको मैत्रीपूर्ण प्रतियोगितामा आफ्नो दुई खेलमा नै सफलता हात पार्दै पेर्सिकले उपाधि जित्न सफल भएको हो ।

पेर्सिकले पहिलो खेलमा ब्राजिली लेजेन्ड रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा ४–२ ले तथा दोस्रो खेलमा एरेमा एफसीलाई टाइब्रेकरमै ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

नेपाली मिडफिल्डर रोहितले रेन्स नुसनतारा एफसीविरुद्ध पहिलो रोजाईमा खेलेका थिए । उनले विश्व चर्चिच ब्राजिली लेजेन्ड रोनाल्डिन्होविरुद्ध पहिलो रोजाईमै खेल्ने मौका पाए ।

निर्धारित ३० मिनेटका खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेका थियो । टाइब्रेकरमा रोनाल्डिन्हो र रोहित दुवैले पेनाल्टी प्रहार गरेनन् । दोस्रो खेलमा भने उनी बेञ्चमै रहे ।

चर्चित इन्डोनेसियन सेलिब्रिटी गायक तथा टिभी पर्सनलिटी रफी अहमद र रुडी सलिमको स्वामित्वमा रहेको रेन्स नुसनतारा एफसी यसै सिजन इन्डोनेसियाको दोस्रो डिभिजन लिग टुबाट शीर्ष डिभिजनमा बढुवा भएपछि क्लबका मालिकद्धयले आफ्ना समर्थकहरुलाई सरप्राईज दिने लक्ष्यसहित गत मार्चको अन्तिमतिर बालोन डि’ओरसँगै ब्राजिलका लागि विश्वकप, कोपा अमेरिका कपसँगै क्लब फुटबलबाट थुप्रै उपाधि जितिसकेका लेजेन्ड रोनाल्डिन्होलाई इन्डोनेसियामा फुटबल खेल्न बोलाउने वाचा गरेका थिए ।

त्यही वाचाअनुसार रोनाल्डिन्हो रेन्स नुसनतारा एफसीबाट एक खेल खेल्न सहमत भएको हो । ४२ वर्षीय रोनाल्डिन्होले क्लब फुटबलमा बार्सिलोना, पिएसजी र एसी मिलान जस्ता चर्चित क्लबबाट व्यवसायिक खेल पस्कदै आफ्नो कला देखाइसकेका छन् ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button