खबर

कैलालीको हँसुलियामा भेटियो दुर्लभ सेतो भङ्गेरा

कैलालीको हसुलियामा देखिएको सेतो भङ्गेरा । तस्बिर : कुलराज चौधरी

अविनाश चौधरी

धनगढी । कैलालीमा सेतो भङ्गेरा फेला परेको छ । कैलारी गाउँपालिका–१ हसुलिया बजारमा आँखा बाहेक प्वाँख सेतो रहेको भङ्गेरा फेला परेको हो । फोटोग्राफर कुलराज चौधरीले शुक्रबार सो भङ्गेरा फेला पार्नुभयो ।

जीवनमा पहिलो पटक आफूले सेतो भङ्गेरा देखेको उहाँको भनाई छ । ‘म नजिककै होटलमा चिया खाँदै गर्दा रुखमा अरु भङ्गेरासँगै निकै फरक सेतो भङ्गेरो पनि देखियो’, उहाँले थप्नुभयो । ‘चाँडै आफ्नो स्टुडियोमा क्यामेरा लिन गएँ । तबसम्म सेतो भङ्गेरो अरु भङ्गेरासँगै भुईमा आइसकेको रहेछ । मैले दुई वटा सट लिन सफल भएँ ।’

आफूले अरु पनि फोटो खिच्ने प्रयास गरेको तर भङ्गेरा उडेर गएपछि थप फोटो खिच्न असफल भएको चौधरीले बताउनुभयो । यहाँ देखिएको भङ्गेरा ‘ल्युसिस्टिक’ वा ‘अल्बिनो’ हुन सक्ने चरा विशेषज्ञ डा. हेमसागर बरालको भनाइ छ ।

उहाँकाअनुसार लाखौंमध्ये एकमा यस्तो देखिने सम्भावना रहन्छ । देखिएको भङ्गेरा ‘ल्युसिस्टिक’ भएको हुन सक्ने सम्भावना बढी रहेको बरालले बताउनुभयो । ‘हेर्दा ल्युसिस्टिक रहेको चान्सेस बढी छ’, उहाँले भन्नुभयो ।

आनुवाङ्शिक बिग्रेर चरामा यस्तो हुने गरेको डा. बरालको भनाइ छ । उहाँले भन्नुभयो–‘ल्युसिस्टिक पुरै वा अलि अलि सेतो रहने गर्दछन् ।’ प्रकृतिमा ल्युसिस्टिकहरु रहेको बरालले बताउनुभयो । ‘तर, यो असाधारण घटना हो’, उहाँले अगाडि थप्नुभयो, ‘यद्यपि, अल्बिनोभन्दा ल्युसिस्टिक सामान्य छ ।’

ल्युसिस्टिकको प्रभावित प्लुमेजमा मेलानिन पिगमेन्टको अभाव हुनेगरेको विशेषज्ञ बरालले बताउनुभयो । ‘किनभने यसमा मेलानिन उत्पादनको लागि जिम्मेवार केशिकाहरु अनुपस्थित छन’, उहाँले चर्चा गर्नुभयो ।

अल्बिनो भने संसारमा बिरलै घटने दुर्लभ घटना रहेको जनाइएको छ । अल्बिनो प्रभावितको प्वाँख सेतोसहित आँखा, छालाको रङ गुलाबी हुनेगरेको बरालको भनाइ छ । ल्युसिस्टिक चराको आँखा अँध्यारो रहने गरेको बताइएको छ । आँखाको रङबाट ल्युसिस्टिक र अल्बिनो छुट्टयाउन सकिने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो– ‘अल्बिनो देख्न पनि सक्दैनन् । भाग्ने बित्तिकै धेरैजसो मर्ने गरेकाले अल्बिनो भएका चरा बिरलै वयस्कसम्म पुग्न सक्छन् ।’ बगालमा भएका चरामध्ये फरक र आकर्षक रङका भएका कारण ल्युसिस्टिक र अल्बिनोलाई शिकारी पंक्षीले पनि चाँडै मार्नेगरेको उहाँको भनाइ छ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button