
इटाभट्टा / मेचीनगर–८ का कृषक बद्रि ढुंगाना यसवर्ष नगदेबाली आलुको उत्पादन बढाउने तयारीमा छन् ।
यसअघि उनी ५ कठ्ठा जमिनमा आलुको बीउ रोपेर निर्वाहमुखी खेती गर्दै आएका थिए । तर, यसवर्ष भने कृषक ढुंगानाले ७ कठ्ठा माटोमा आलु खेती गरेर व्यवसायीक बन्ने सोच बनाएका हुन् ।
व्यवसायीक खेती प्रणालीलाई व्यवस्थित गर्ने उर्जा उनलाई मेचीनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाबाट प्राप्त भएको हो । उक्त सहकारीले संस्थाको कार्यालय नजिकै कृषि बजार निर्माण गरेको छ । त्यससँगै खेती विस्तार गर्ने जाँगर उनमा पलाएको हो ।
रातदिन दुःख गरेर उत्पादन गरिएका कृषिजन्य वस्तुको उचित मूल्य पाइने र बजारको समेत अभाव नहुने भएपछि ढुंगानाले आलुको उत्पादन वृद्धि गर्ने योजना बनाएका हुन् ।
‘उत्पादन गरिएका तरकारीको मूल्य चित्तबुझ्दो थिएन, त्यही भएर जाँगरै मरेको थियो’ आलुको व्यवसायीक खेती गर्दै आएका ढुंगाना भन्छन्–‘ तर, अब चाहिँ अग्र्र्यानिक उत्पादनले राम्रै मूल्य पाउँछ की भन्ने आश छ ।’
ढुंगाना भन्छन्–‘त्यसैले, आलु खेतीको क्षेत्र बढाएको हुँ ।’ उनी मात्र होईन सोही वडाका ऋषि फूयाँल पनि राजमा र टमाटर खेती विस्तार गर्ने सुरसार गर्दैछन् । मेचीनगरमै पहिलोपटक कृषिउपज बजार निर्माण भएसँगै यतिखेर व्यवसायीक उत्पादनमा लागेका किसानहरु उत्साहित बनेका छन् ।
नवनिर्मित कृषिउपज बजारको बिहीबार(आज) विधिवत् उद्घाटन हुँदैछ । प्रदेश सांसद् श्रीप्रसाद मैनालीले उक्त सहकारीको चौथो वार्षिक साधारणसभाको सन्दर्भ पारेर कृषिउपज बजार उद्घाटन गर्न लागेका हुन् ।
उक्त संस्थाले १५ वर्षका लागि १५ कठ्ठा जग्गा लिजमा लिएर आधुनिक कृषि मण्डी निर्माणपछि कृषिउपज बजार सञ्चालन गर्न लागेको हो । कृषि मण्डीको निर्माण कार्य गत चैत २४ गतेबाट सुरु भएको थियो । कृषि मण्डीबाट मेचीनगर–७, ८ र १० नम्बर वडाका कृषक र सहकारी संस्थाका सदस्यहरु प्रत्यक्ष लाभान्वित बन्ने बताइएको छ ।
उक्त सहकारीले ५५ लाख ६६ हजार रुपैयाँको कुल लागतमा ६ वटा कृषि टहरा, शौचालय र स्नान गृह(बाथरुम) निर्माण गरेको संस्थाका अध्यक्ष प्रल्हादमणि ओलीले बताए । ओलीले भने–‘मेचीनगरमा अहिलेसम्म कृषि मण्डी नै छैन, जसका कारण वास्तविक किसान बिचौलीयाबाट ठगिनु परेको छ, कृषकलाई ठगिनबाट जोगाउन यो अभियान सुरु गरेका हौं ।’
कृषि मण्डी निर्माणका लागि नेपाल सरकार, कृषि मन्त्रालय मार्फत ५० लाख रुपैयाँ अनुदानस्वरुप प्राप्त भएको र संस्थाबाट ५ लाख ६६ हजार रुपैयाँ खर्चिएर टहरा बनाइएको उनले बताए । कृषि मण्डी सञ्चालनमा आएसँगै हरेक किसान तरकारी खेतीप्रति आकर्षित हुने उनको विश्वास छ ।
आफ्नै बारीमा फलाइएका कृषिजन्य वस्तु कृषि मण्डीमा ल्याएर उचित मूल्यमा बिक्री गर्नसक्ने वातावरण निर्माण गरी कृषिबाटै आत्मर्निभर बनाउने संस्थाको योजना छ ।
स्थानीय तेजप्रसाद प्रसाईंसँग सब्जी मण्डी निर्माण गर्न लिएको जग्गाको भाडाबापत वार्षिक १ लाख रुपैयाँ बुझाउने सम्झौता भएको संस्थाले जनाएको छ ।
संस्थाले तरकारी खेतीसँगै व्यवसायीक रुपमा च्याउ खेती गर्ने सदस्य कृषकहरुलाई प्रोत्साहित गर्दै आएको छ ।
संस्थाले सहकारी अन्तर्गत जोरसिमल कृषक पुरुष समूह र जोरसिमल उर्जाशील कृषक महिला समूह समेत गठन गरी समूहगत रुपमा कृषि सम्बन्धि गतिविधि सञ्चालन गर्दै आएको छ ।
संस्थाद्धारा गठित महिला समूहले पछिल्लोसमय व्यवसायीक रुपमा च्याउ खेती सुरु गरेको छ । सहकारीले हाल १ बिगाहा जग्गामा धान खेती गरेको छ । आगामी दिनमा चिस्यान केन्द्र समेत निर्माण गरेर कृषकहरुलाई थप राहत प्रदान गरिने संस्थाका सचिव चन्द्र निरौला बताउँछन् ।
उत्पादन गरिएको आलु ६ महिना नबित्दै कुहिने समस्याले कृषक मारमा पर्दै आएका छन् । आलु कुहिन थालेपछि किसान ठूलो क्षति व्यहोर्न बाध्य हुनुपरेको छ । चिस्यान केन्द्र सञ्चालन भएपछि किसानले उक्त समस्याबाट उन्मुक्ति पाउने छन् ।
क्षेत्रफल बढाएर आलु खेती गरेपनि ५ महिनाभन्दा बढी घरमा राख्नै नसकिने भएपछि कृषकहरुले चिस्यान केन्द्रको आवश्यकता महसुस गरेका हुन् । चिस्यान केन्द्रको निर्माण भए वर्षभरी आवश्यक पर्ने आलु, हरियो तरकारी, गोलभँेडालगायत कृषिजन्य उत्पादन सुरक्षित रहने सचिव निरौलाले बताए ।
चिस्यान केन्द्र निर्माण गर्नसकिए सहकारीलाई समेत आम्दानी हुनेहुँदा संस्थाको आर्थिक पाटो बलियो हुने उनको भनाई छ । यसवर्ष १ हेक्टर जमिनमा आलुको बीउ राख्ने तयारी भइरहेको संस्थाले जनाएको छ janasamsadonline



