स्वास्थ्य

मुख स्वास्थ्य किन जरुरी? स्वस्थ राख्न के गर्ने?

डा संजय प्रसाद गुप्ता
मुख स्वास्थ्यलाई शरीरको ऐनाको रुपमा बुझ्न सकिन्छ। मुखको परीक्षण मात्रले पनि अरु रोगहरुको लक्षण जस्तै: एचआईभी, मधुमेहका साथै पोषण तत्वहरुको कमि र धूम्रपान, मध्यपान जस्ता कुलतको लक्षण पनि देखिन्छ जसले पुरै शरीरको स्वास्थ्यलाई झल्काउँद छ।

दाँत तथा मुखको रोगले मुखमा मात्र सीमित नभई यसले शरीरका अरु अंगमा पनि प्रभाव पारिरहेको हुन्छ। मुख स्वास्थ्य र शरीरका अन्य रोगहरुको सम्बन्ध दुईतर्फी हुन्छ। मधुमेह भएका बिरामीमा गिजाको समस्या देखिने सम्भावना बढी हुन्छ र गिजाको रोगको समाधानले मधुमेहको उपचार नियन्त्रनमा मद्त गर्दछ। धेरै जसो मुखको रोगहरु र शरीरका अरु रोगहरुको जोखिम तत्व साझा हुन्छ।

१. खानामा चिनीको मात्रा धेरै, प्रोसेस्ड खानेकुरा, सफ्ट ड्रिंक्सले दाँतमा किरा लाग्नुका साथै मधुमेह, मुटुरोग, र क्यान्सरको मुख्य कारक तत्व मानिएको छ।

२. सुर्तिजन्य पदार्थ र मध्यपानको सेवनले गिंजाको रोग, मुखको क्यान्सरको साथै मुटुरोग, श्वासप्रश्वासको रोग र अरु क्यान्सरहरुको कारक तत्व मानिन्छ।

३. मुखको सफाईमा ध्यान नदिनाले बन्ने दन्त लेउको किटाणुहरुले गिंजाको रोगको साथै मधुमेह रोग र मुटुरोगहरुको नियन्त्रणमा सिधा असर गरेको हुन्छ।

मुखलाई शरीरको अरु भागबाट अलग राख्न सकिँदैन। त्यसैले शरीरका अरु अंग जस्तै दाँत तथा मुखलाई पनि स्वस्थ राख्न अति नै जरुरी हुन्छ। रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बेस हुन्छ। दाँत तथा मुख रोगको धेरैजसो रोकथाम प्रतिरोधात्मक पद्धति, स्वस्थ्य जीवनशैली र जनचेतना फैलाएर गर्न सकिन्छ।

मुख स्वस्थ्य राख्न के गर्ने?
१. चिनीको मात्रा तथा दाँतमा टाँस्सिने खालका खानेकुरा कम खाने। रेसादार खानाहरु जस्तैः फलफुल र हरियो सागसब्जीको सेवन बढि गर्नु पर्दछ।

२. मुख स्वास्थ्यको हेरचाहमा विशेष ध्यान दिने:
– फ्लोराईड युक्त टुथपेष्टले दिनको दुई पटक र दुई मिनेटसम्म ब्रस गर्ने
– खाना खाईसकेपछि राम्रोसँग कुल्ला गर्ने।
-डेन्टल फल्सको मद्दतले अड्किएको खाना निकाल्ने।

३. सुर्तिनजन्य पदार्थ तथा मध्यपानको सेवन नगर्ने।
४. नियमित रुपमा मुख तथा गिजाको जाँच गराउने र दाँतको स्केलिङ (प्रोफेसनल क्लिनिङ) गराउने (कम्तीमा हरेक ६ महिनामा)।

(लेखक त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत छन्।)स्वास्थ्य खबर पत्रिकाबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button