स्वास्थ्य

डेंगु अझै छ, सतर्क रहनुस्

डा शेरबहादुर पुन

केही दिनअघि एक दम्पती डेंगु लागेर उपचारको लागि आएको थियो। ‘डाक्टर सा’ब हामीले त जाडो सुरु भयो, अब लामखुट्टे आउँदैन भनेर झुल प्रयोग गर्न छोड्यौं। तर डेंगु लाग्यो भनेर थाहा पाउँदा अचम्मित भएका छौं,’ आजभोली अरु डेंगु संक्रमितहरुको मनमा लाग्ने प्रश्न पनि यस्तै हुने गरेको पाइन्छ।

सायद धेरैले यति ठूलो डेंगुको महामारी दसैं अगाडि सकियो, अब हुँदैन भनेर अनुमान गरेको हुनुपर्छ। धेरैलाई डेंगु नेपालमा सामान्यतय: मनसुन लगत्तै दसैं–तिहारतिर बढी देखिन सक्छ भन्ने थाहा नभएको भन्ने बुझिन्छ।

अहिले डेंगुका बिरामी आउने स्थानमा भने केही परिवर्तन भएको देखिन्छ। जस्तै दसैं अगाडि डेंगुका बिरामीहरु विशेषगरी नयाँबजार, स्वयम्भु, डल्लु, भोटेबहाल, न्युरोड, नरदेवी लगायतका स्थानहरुबाट आउने गरेका थिए भने हाल कलंकी, कुलेश्वर, कालिमाटी, बालाजु, बल्खु, टेकु, सानेपा आदि ठाउँहरुबाट बढी आउने गरेको पाइन्छ।

अहिले देखिएको संख्या भने दसैं अगाडि देखिएको संख्याभन्दा धेरै गुणा कम हो भन्न सकिन्छ तर यदि काठमाडौँमा दसैं अगाडिको डेंगु महामारीको अवस्था सिर्जना नभैदिएको हुन्थ्यो भने अहिले देखिएको संख्या अत्यधिक धेरै हो अर्थात् डेंगु प्रकोप हो भनेर भन्न सकिन्छ। गत साल बालाजुमा एक दर्जन जति मात्र डेंगुका बिरामीहरु देखिएका थिए।

हाल काठमाडौँमा देखिएको डेंगुको प्रकोप अस्वभाविक/अकल्पनीय डेंगु महामारीपछि देखिएको स्वभाविक डेंगु प्रकोप हो। त्यसैले यो पंक्तिकारले अझै केही समय डेंगुको जोखिम रहिरहने छ भनेर भन्दै आहिरहेको पनि थियो/छ। तर अहिले लामखुट्टे नियन्त्रण गर्ने उपायहरुको बारेमा हामीले सोच्न छोडिसकेको जस्तो देखिन्छ, जुन जसलाई हामीले निरन्तरता दिनु पर्दथ्यो। डेंगु विरुद्धको अभियान हाल सम्बन्धित निकायबाट पनि चासो दिन छोडेको जस्तो देखिन्छ।

अहिले जति पनि डेंगुका बिरामीहरु आइरहेका छन् उनीहरु दसैं अगाडिको डेंगु महामारीमा संक्रमित भएका थिएनन्। अर्थात् जोकोही आजको मितिसम्म डेंगु संक्रमित नभएको भए अब डेंगु संक्रमित हुनबाट म मुक्त भएँ भनेर सोच्नु गलत पनि हुनसक्दछ। अहिले पनि खुसिबु नयाँबजारबाट दसैं अगाडि डेंगु संक्रमित नभएका तर अहिले संक्रमित भएर फाट्टफुट्ट बिरामीहरु आउने क्रम जारी रहेकोबाट पनि भन्न सक्दछौं, खुसिबु नयाँबजार काठमाडौँमा सबैभन्दा पहिले र नराम्ररी डेंगु प्रभावित भएको ठाउँहरु मध्येमा पर्दछ।

त्यसैले अझै अरु केही दिन डेंगु देखा पर्ने क्रम जारी हुनसक्ने भएकोले सतर्कता अपनाउन अत्यन्तै जरुरी देखिन्छ। यसको विशेष औषधि पनि नहुने भएकोले डेंगु लाग्नु भन्दा हुनै नदिनु उत्तम उपाय हुनेछ।

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)swsthyakhabarpatrika

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button