चितवन। देशमा एकमात्र आत्मनिर्भर व्यावसाय भनेको कुखुरा पालन व्यवसाय (पोल्ट्री क्षेत्र) हो । तर यही व्यावसाय अहिले धरापमा छ । सजिलो र सस्तो भएका कारण सवै यही व्यावसायमा झुम्मिदा पनि परिणाम यस्तो आएको बताइन्छ । योसंगै जति सम्भावना त्यति जोखिम बढ्दै गएको छ ।
आत्मनिर्भर व्यवसायको रुपमा रहेको पोल्ट्री व्यवसायमा पछिल्लो समयमा सहजभन्दा संकट बढ्दै गएको छ । समय समयमा बर्डफ्लूको समस्याले पीडित बन्ने गरेको यो क्षेत्र अहिले बजार अभावका कारण समस्यामा परेको छ । व्यवसायनै संकटमा पर्दै गएको व्यवसायीहरु बताउँछन् ।
ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाको उचित मूल्य अभावका कारण पोल्ट्री व्यवसायीहरु मारमा परेका छन् । उत्पादन भएका चल्ला र अण्डा सहज रुपमा बिक्री हुन समेत छाडेका छन् । बजार मूल्यमा एक्कासी गिरावट आएका कारण केही समय चितवनका व्यवसायीहरुका बीचमा समस्या समेत देखिएको थियो ।
विभिन्न समयमा देखिने रोगका कारण मर्कामा पर्दै आएका पोल्ट्री व्यवसायी एका तिर दानाको मूल्यवृद्धि अर्को तिर लागत अनुसारको चल्ला र अण्डाको मूल्य नपाउदा संकटमा परेकाछन् । भारतबाट आयात हुने अवैध चल्ला र अण्डाका कारण पनि व्यवासायीहरु मर्कामा परेका छन् ।
विसं २०७२ सालमा भन्दा ७८ प्रतिशत बढी ब्रोइलर चल्ला, शत प्रतिशत लेयर्स चल्ला र दुई सय प्रतिशत क्रोइलर चल्ला बढी उत्पादन हुने गरेको छ । गएको साल भन्दा २५ प्रतिशत बढी ब्रोइलर, ४० प्रतिशत बढी लेयर्स र दोब्बर क्रोइलर चल्ला उत्पादन भएको छ ।
उत्पादन भएका चल्ला बजारमा बिक्री गर्न समस्या देखिएको व्यवसायीहरु बताउछन् । उत्पादनका लागि भएको लागत मूल्यभन्दा धेरै कममा पनि चल्ला बिक्री गर्न समस्या रहेको नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीहरु बताउछन्।
चल्ला नबिके पछि कतिपय व्यवसायीले खाल्डो खनेर पुर्न बाध्य भएका छन् । चल्लाको उत्पादन बढ्दै गएको तर बजारमा माग र बिक्री कम भएकाले समस्या आइलागेको व्यवसायीहरु बताउँछन् । नेपालको भन्दा भारतमा चल्लाको मूल्य महंगो छ । एक हप्तामा नेपालबाट भारतमा ५ लाख चल्ला एक लाख अण्डा जाने गरेको व्यवसायीहरु बताउँछन् ।
अण्डा उत्पादन बढ्यो माग बढेन
देशभर लेयर्स कुखुरा पाल्ने फार्मको संख्या ७ हजार भन्दा बढी छ । दैनिक ४० लाख अण्डा उत्पादन हुने गरेको छ । यो गएको वर्ष भन्दा ४० प्रतिशतले वृद्धि हो । अण्डाको उत्पादन जती बढेको छ त्यती माग नबढेका कारण उत्पादक कृषकहरु पनि संकटमा रहेका छन् । अण्डा उत्पादक संघले बजारमा बिक्री हुने अण्डाको मूल्य निर्धारण गर्दै आएको छ । पछिल्लो समय संघले तोकेको मूल्यमा पनि अण्डा बिक्री नभएको अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी बताउछन् ।
उत्पादन लागत प्रतिअण्डा १० रुपैयाँ पर्ने बताउँदै उनले बिक्री मूल्य प्रति गोटा ७ रुपैयाँ रहेको बताउछन्। अण्डा बिक्री हुन नसक्दा खाडलमा गाड्नु परिरहेको उनले जानकारी दिए। एकातिर बजारको समस्या अर्को तिर उच्च तापक्रमका कारण लामो समय भण्डारण गर्न नमिल्ने भएकाले अण्डा खेर गइरहेको उनले बताए।
वार्षिक रुपमा ७ देखि १० प्रतिशत खपत बढ्दै जाने आकलन हो । यो बर्ष एकै पटक उत्पादन ४० प्रतिशत बढ्यो तर खपत प्रतिशत बढ्न सकेन । उत्पादनलाई रोक्न नमिल्ने व्यवसाय भएका कारण धेरै व्यवसायी मारमा परेको बताउदै कँडेलले २३ वर्षको इतिहासमा यस वर्ष ठूलो पीडा व्यहोर्नु परेको बताउनुभयो ।
नीतिमै समस्या
कुखुरा पालन क्षेत्रमा राज्यको नीतिका कारण समस्या बढ्दै गएको व्यवसायीहरु बताउँछन् । पोल्ट्री व्यवसाय जति संवेदनशील हो त्यती राज्यको नीति संवेदनशील हुन नसक्दा संकट बढ्दै गएको व्यवसायीहरु बताउँछन् । राज्यले व्यवसाय अन्तर्गत उत्पादनमा सहजता र बजार व्यवस्थापनको नीति बनाउनुपर्ने बताउँछन् व्यावसायीहरु । हरेक पटकका सरकारले पोल्ट्री क्षेत्रको संवेदनशीलतालाई जति बुझ्नुपर्ने हो त्यति बुझ्न नसकेको बताउछन् उनीहरु।
नेपालमा कुखुरा जन्य क्षेत्रमा १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको तथ्यांक छ । दानाको मूल्य बढेका कारण पनि कृषक समस्यामा रहेकाछन् । गएको वर्षको तुलानामा यस बर्ष दानाको मूल्य २५ प्रतिशतले वृद्धी भएको व्यवसायीहरु बताउछन् । दानाको मूल्य वृद्धि, चल्ला र अण्डाको बजार अभावका कारण व्यवसाय संकटमा पर्दै गएकाले धेरै साना लागानीका कृषकहरु विस्थापित समेत हुँदै गएका छन् ।हलोखबर



