
परिवर्तन गर्न नमिल्ने चिजमा छिमेकी पनि हो । असल नियत भएको छिमेकी प¥यो भने अर्को छिमेकीलाई पनि धेरै कुराको सहयोग र राहत हुन्छ । तर, खराब नियत भएको छिमेकी प¥यो भने त्यो भन्दा अभिषाप अर्को के नैै पो हुन्छ र !
छिमेकी मित्र राष्ट्र भारतको राज्य प्रशासनबाट नेपालले यस्तै सास्ती भोगेको लामो र तीतो ईतिहास हामीसँग छ । नेपालको प्राय सबै मामिलामा नजानिदो र जानिदो दुबै पाराले भारतीय राज्य प्रशासनले खेल्दै आएको कुरा सबै सामु जगजाहेरनै छ । खास गरि नेपाल र भारतको साँध सीमानाका बारेमा भारतले पहिलादेखिनै अतिक्रमण गर्दै आएकोछ । नेपाल सानो देश भएपनि यसको आफ्नै ओजपूर्ण स्वाभिमान र सार्वभौम पक्ष रहेको कुरा जान्दाजान्दै पनि भारतले आफ्नो साँध जबरजस्ती मिच्दै आएकोछ । गएको शनिबार भारतले आफ्नो पछिल्लो भौगोलिक राजनैतिक नक्शामा नेपालको लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो भनेर नक्शामा पार्ने भद्दा र लज्जास्पद नियत प्रकट गरेकोछ । रोटी र बेटीको गाढा नाता भएको स्वाङ् पार्ने भारतले छिमेकीको सार्वभौम अधिकार र भौगोलिक स्वतन्त्रता माथि हस्तक्षेप गरेर छिमेकी स्वाभिमान माथि प्रहार गर्ने प्रयत्न गरेको बुझिन्छ ।
नेपालको साँध सीमाना मिच्ने काम यो मात्र होइन , नेपालका करिब ८१ स्थानमा उसको अतिक्रमणकारी हर्कत रहेको देखिन्छ । यो समस्याको समाधानका लागि यहाँका राजनीतिक दल र सरकारले झारो टार्ने शैलीका बिज्ञप्तीले मात्र यसको हल हुदैन । कुटनैतिक तवरमानै यसको कडा प्रतिवाद हुनै पर्छ । नागरिक स्तरबाट अहिले भैरहेको प्रतिवादले एक पटक फेरि देशभक्त नेपालीको आफ्नो माटोप्रतिको असिम प्रेमलाई प्रकट गरेकोछ । र, यथाशिघ्र सरकारले यस अघि भएका असमान संधि लगायतका विषय आफ्नो प्रष्ट धारणा सहित सधैका लागि यसप्रकारका हर्कतलाई बन्द गर्ने गरि आफ्नो कार्यलाई बढाउन आबाश्यक छ ।



