
एजेन्सी – रेलिगेसन जोनमा रहेको वाटफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित हात पारेको छ । प्रिमियर लिग अन्तरगत शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
वाटफोर्डले यो सिजन १२औं खेल खेल्दा १ मा जित, ५ बराबरी र ६ हारको नतिजा निकालेको छ । वाटफोर्ड ८ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ । नर्विच ७ अंक जोडेर पुछारमा छ ।
खेलको दोस्रो मिनेटमा नै पाहुना टोली वाटफोर्डले जेरार्ड डेउलोफेउको गोलमा अग्रता लिएको थियो । ५२औं मिनेटमा डेउलोफेउकै पासमा आन्द्रे ग्रेले गोल गर्दै वाटफोर्डलाई २–० को अग्रता दिलाए ।
६५औं मिनेटमा क्रिस्टियन कावासेले दोहोरो पहेलो कार्ड दाखै मैदानबाट बाहिरिएपछि वाटफोर्ड १० खेलाडीमा समेटिएपनि घरेलु टोलीले त्यसको फाइदा उठाउन सकेन । वाटफोर्ड २–० ले विजयी रहन सफल भयो ।
प्रिमियर लिगमा लिभरपुल ११ खेलबाट ३१ अंक जोडेर शीर्षस्थानमा छ । २५ अंकसहित म्यानचेस्टर सिटीले लिभरपुललाई पछ्याइरहेको छ । लेस्टर सिटी र चेल्सी समान २३ अंकसहित तेस्रो र चौथो स्थानमा छ ।hamrokhelkud



