खबर

विदेशी लगानीकर्तालाई नेपाली मुद्रामै खाताको व्यवस्था

काठमाडौँ, असार ८ गते । अब गैरआवासीय नेपाली (एनआरएन) ले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिन विदेशी लगानीको स्वीकृतिअगावै रकम भित्र्याउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाबमोजिम विदेशमा लगानीसम्बन्धी सर्त, लगानीको क्षेत्रगत सीमालगायत अन्य व्यवस्था समावेश गरी राष्ट्र बैङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गरिएको हो ।

कम्पनीको सेयरमा आवेदन दिएपश्चात् सेयर बाँडफाँटमा नपरेर रकम फिर्ता गर्नु परेमा खाता रहेको बैङ्क–वित्तीय संस्था वा इन्भेस्टमेन्ट कम्पनी वा सोको सेयर रजिस्ट्रारको सिफारिससहित राष्ट्र बैङ्कको एकाइमा निवेदन दिनुपर्ने व्यवस्था संशोधनमार्फत मिलाइएको छ ।

यस्तै विदेशी लगानीकर्तालाई नेपाली मुद्रामा खाता खोलेर लगानी ल्याउन सक्ने व्यवस्था पनि संशोधनमार्फत गरिएको छ ।

विदेशी लगानीकर्ताले खाता खोल्ने र सञ्चालन गर्नेसम्बन्धी व्यवस्था गर्दै संशोधित विनियमावलीमा भनिएको छ, “विदेशी लगानीको स्वीकृति प्राप्त विदेशी लगानीकर्ताले विदेशी लगानीसम्बन्धी रकम नेपाली बैङ्क तथा वित्तीय संस्थामा परिवत्र्य विदेशी मुद्रा वा नेपाली रुपियाँको खाता खोली जम्मा गर्न सक्ने छन् ।”

विदेशी लगानीबापत आर्जित रकम र लगानी फिर्ताको रकम सम्बन्धित विदेशी लगानीकर्ताको नेपाली बैङ्क वित्तीय संस्थामा खोलिएको नेपाली रुपियाँ खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । संस्थाले विदेशमा लगानीबाट आर्जित रकम वा लगानी फिर्ता गरी नेपालमा रकम भित्र्याउँदा बैङ्किङ प्रणालीमार्फत भित्र्याउनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button