खबरहेड लाइन

विश्व बजार लिँदै नेपाली मूर्ति

वीरेन्द्र ओली
काठमाडौँ, साउन ३१ गते । नेपालमा निर्मित काठ, प्रस्तर (ढुङ्गा), तामा, चाँदी, तामामा सुनको जलप लगाएर तयार गरिएका हस्तकलाका मूर्ति विश्व बजारमा पुगिरहेका छन् । कलाकौशलले भरिपूर्ण कलात्मक मूर्ति र सजावटका हस्तकला सामग्रीको माग चीन, भारतसहित युरोप, अमेरिकालगायत देशमा हुने गरे पनि ठुलो परिमाणमा उत्पादन भने हुन सकेको छैन ।

पुरातत्व विभागकी अधिकृत सरिता सुवेदीका अनुसार विगत छ वर्षमा कुल २५ लाख २३ हजार ८२२ थान मूर्ति विदेश निर्यात भएका छन् । “हामीले एक सय वर्षभन्दा कम समय भएका हस्तकलाका मूर्तिलगायत सजावटका सामग्री विदेश निर्यात गर्न प्रमाणीकरण गर्छौं । त्यसका लागि व्यापारीले अनलाइनमै फर्म भर्नु पर्छ, त्यसपछि मूर्ति विभागमा ल्याएमा प्रमाणीकरण गरेपछि सकिन्छ,” उहाँले भन्नुभयो, “यदि एक सय वर्षभन्दा बढीका मूर्ति वा सजावटका सामग्री भए निर्यात गर्न दिँदैनौँ । नेपालमै मठमन्दिर, ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गरेर अवलोकनका लागि राखिन्छन् ।”

नेपालमा निर्मित हस्तकलाका मूर्ति र सजावटका सामग्री ८० प्रतिशत चीन अरू २० प्रतिशत भारत, युरोप, अमेरिकालगायत देशमा निर्यात हुँदै आएको उहाँले जानकारी दिनुभयो । “नेपालबाट चीनमा प्रायः बुद्ध धर्मसँग सम्बन्धित मूर्तिसहित सजावटका सामग्री निर्यात हुन्छन् । जसमा बुद्धका विभिन्न आसनका मूर्ति, बेबी बुद्ध मूर्ति, तारा पञ्चध्यानीलगायत विभिन्न स्वरूपका धातु र प्रस्तरद्वारा तयार सामग्रीसहित थाङ्का निर्यात गरिन्छ,” उहाँले भन्नुभयो । उहाँ अनुसार भारतमा प्रायः हिन्दु धर्मसँग सम्बन्धित गणेश, कुबेर, सरस्वती, कृष्ण, दुर्गा, देवीलगायत देवीदेवताका मूर्तिसहित हस्तकलाका अरू सामग्री जान्छन् ।

हस्तकलाका सामग्रीको व्यापार राम्रो भएकाले राज्यले समेत कर नलिएर प्रोत्साहन गर्ने गरेको अधिकृत सुवेदीले बताउनुभयो । “नेपालमा हस्तकलाका सामग्री उत्पादन हुन थालेको लामै इतिहास छ । पछिल्लो पुस्ताले त्यति ध्यान दिन छाडेपछि लोप हुन्छ कि भन्ने भएपछि राज्यले कर छुट गरेर प्रोत्साहन गरेको छ,” उहाँले भन्नुभयो, “हस्तकलाका सामग्री बनाएर निर्यात गर्नेले राम्रै आम्दानी गरेका छन् ।” व्यापारीले वार्षिक रूपमा कति आम्दानी गर्दै आएका छन् भन्नेबारेमा विभागको रेकर्डमा राख्ने व्यवस्था नभएको उहाँले प्रस्ट पार्नुभयो । नेपाल हस्तकला महासङ्घका पूर्वअध्यक्ष प्रचण्ड शाक्यले वार्षिक ३५ करोडभन्दा बढी हस्तकलाका मूर्ति निर्यात हुने गरेको जानकारी दिनुभयो । “नेपालबाट धातु र काठले बनेका मूर्ति फरक फरक तरिकाले निर्यात हुन्छन् त्यसैले एक ठाउँमा भेट्न सकिँदैन,” उहाँले भन्नुभयो, “तर नेपालबाट हस्तकलाका मूर्ति वार्षिक ३५ करोडभन्दा बढीको निर्यात हुन्छन् । यसको बजार विदेशमा राम्रो छ ।” निर्यातको अवस्था जुन गतिमा वृद्धि हुनुपर्ने हो त्यो अवस्था भने नभएको उहाँले बताउनुभयो । “हामीले ‘मास’ उत्पादन गर्न सकेनौँ । अर्को चीन, भारतलगायत देशले आफैँ मास उत्पादन गर्दा निर्यात कम देखिन्छ । यद्यपि हस्तकलाको नयाँ नयाँ आविष्कार भएका माग राम्रो छ,” उहाँले भन्नुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button