
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल।
काठमाडौँ, जेठ ७ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाडीको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताउनुभयो ।
मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्नुभयो । टोलीको सुधारोन्मुख खेलले देशको शिर ठाडो पारेको उहाँले उल्लेख गर्नुभयो । राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न नसकेकोप्रति आत्मआलोचना गर्दै उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गरी खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहने उहाँले बताउनुभयो ।
टोलीमा अनुभवी र नयाँ खेलाडीहरूको सन्तुलित सम्मिश्रण रहेको प्रति खुसी व्यक्त गर्दै मन्त्री पोखरेलले वरिष्ठ खेलाडीहरूलाई अनुजहरूलाई मार्गनिर्देशन गर्न र नयाँ खेलाडीहरूलाई अग्रजबाट सिक्न आग्रह गर्नुभयो । उक्त अवसरमा मन्त्री पोखरेलले चोटका कारण टोलीमा पर्न नसकेका खेलाडीहरूको योगदानको स्मरण गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभयो ।
मन्त्री पोखरेलले भन्नुभयो, “राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न सकेको छैन भन्नेमा म आत्मआलोचना गर्न चाहन्छु । तर उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहनेछ । तपाईंहरूले मैदानमा देखाउनुभएको सुधार र मेहनत तारिफयोग्य छ । आज यो हलमा देखिएको ऊर्जा र आत्मविश्वासले यस पटक हामी उपाधि जितेरै आउँछौँ भन्नेमा म पूर्ण विश्वस्त छु । मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोस्, जित अवश्य सम्भव छ । तपाईंहरू च्याम्पियन बनेर फर्किएपछि विमानस्थलमा स्वागत गर्न म स्वयं उपस्थित हुने प्रतिज्ञा गर्दछु ।”
बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रतिनिधि र खेलाडीको उपस्थिति रहेको थाहा भएको छ ।
गोरखापत्र अनलाइन



