
बिर्तामोड । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनताको सुख–दुःखमा साथ दिँदै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस झापाद्वारा बिर्तामोडमा आयोजित प्रशिक्षक अभिमुखीकरण तथा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षित कार्यकर्ताहरू पार्टीको पक्षमा जनमत सिर्जना गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता सिटौलाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले नै पार्टीको आधिकारिकता पाउने दाबी गरे । यस विषयमा सम्मानित सर्वोच्च अदालतले पीडित पक्षलाई न्याय मिल्ने गरी फैसला गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।
सोही अवसरमा सिटौलाले विभिन्न भ्रम र झुठो प्रचारका कारण अलमलमा परेर बाटो बिराएका पुराना सहकर्मी तथा कार्यकर्तालाई पुनः मूलघरमा फर्किएर संगठन विस्तारमा लाग्न आह्वान गरे । युवा, विद्यार्थी, महिला, आदिवासी जनजाति र अल्पसंख्यक समुदायलाई पार्टीको मूलधारमा समेट्दै कांग्रेसलाई सबै जाति, भाषा, पेसा र वर्गको साझा पार्टीका रूपमा अघि बढाउन उनले जिल्ला नेतृत्वको ध्यानाकर्षण गराए ।

कार्यक्रममा निर्वाचन अधिकृत नारायण पोखरेल र नेता सिटौलाले जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा विभिन्न तहगत इकाइ समितिका पदाधिकारीहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए । सोही क्रममा उनले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका ४३ जना नवप्रवेशीलाई माला, खादा र अबिर लगाएर पार्टीमा स्वागत गरे । यसअघि सिटौलाले बिर्ताबजारमा नेपाली कांग्रेस बिर्तामोड नगर समितिको कार्यालयसमेत रिबन काटेर उद्घाटन गरेका थिए ।
कांग्रेस झापाका सभापति कृष्णप्रसाद हुमागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोमा भट्टराई र महिन्द्राकुमारी सुब्बा तथा प्रदेश सांसद रामकुमार खत्रीलगायतका वक्ताहरूले चुनावको मुखमा पार्टीको वैधानिक प्रक्रियाविपरीत विशेष अधिवेशनको नाममा विभाजनको रेखा कोर्न खोज्नेहरूले देश, जनता र पार्टी कसैको पनि हित गर्न नसक्ने धारणा राखे ।
जिल्ला उपसभापति राजकुमार न्यौपानेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव सञ्जय निरौलाले गरेका थिए भने सहजीकरण अर्का सचिव विष्णु खरेलले गरेका थिए ।



