
फिल्मीखबर, काठमाडौं,
लगातार फिल्म असफलता भएपछि पलायनको बाटो रोज्ने नेपाली सेलिब्रेटीको भीडमा अट्छन्, अभिनेता जीवन लुईंटेल । एक समय नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य बनाएका उनी गएको दुई वर्षयता परिवारसहित अमेरिकामा बस्दै आएका छन् । असफल फिल्मको संख्यामा पूर्णविराम नलाग्नु र फिल्म अफर हुन छाडेपछि उनी अमेरिका भााँसिएको कतिपयको टिप्पणी छ ।
पछिल्लो पटक फिल्म ‘सुकुलगुण्डा’ मा देखिएका अभिनेता जीवनले ‘मिस्टर नेपाल’ को उपाधि जितेपछि फिल्ममा प्रवेश गरेका थिए । ‘नसिब आफ्नो’ बाट सोलो हिरोको रुपमा उदाएका उनले त्यसअघि ‘सानो संसार’ र ‘मेरो एउटा साथी छ’ मा अतिथी भूमिका निभाएका थिए । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नु ल’ उनको करिअरको टर्निङ पोइन्ट सावित भएको थियो ।
पर्दाबाट टाढा भए पनि अझै दर्शकको मनमा बस्न सफल अभिनेता जीवन कवि पनि हुन् । उनले ‘नायक’ नामक कविता संग्रह बजारमा ल्याइसकेका छन् । रेखा थापासँग जोडी मिल्ने अभिनेताका रूपमा चिनिएका उनलाई एक समय अभिनेता आर्यन सिग्देलको प्रतिस्पर्धीको रुपमा हेरिन्थ्यो । तर, अभिनेता आर्यन अझै नेपाली फिल्ममा सक्रिय रहँदा जीवन भने अमेरिका भाँसिए ।
‘सुब्बा साप’, ‘रिफ्युजी’, ‘जाउँ हिड पोखरा’, ‘काफल पाक्यो’, ‘लेक साइड’ लगायतका फिल्म लगातार असफल भएपछि परिवार बोकेर अमेरिका हानिएका उनी गएको २ वर्ष अगाडिसम्म फिल्मको शिलशिलामा नेपाल-अमेरिका आउजाउ गरिरहन्थे । तर, अहिले उनी अमेरिकामा सेटल हुन संघर्ष गरिरहेको बताइन्छ । दर्शक भने अझै उनी फिल्ममा फर्किने प्रतिक्षामा बसिरहेका छन् ।
जीवन्त अभिनय गर्ने अभिनेताको रुपमा चिनिने जीवनले ‘म तिम्रो भइसकेँ’, ‘रिदम’, ‘स्टुपिड मन’, ‘कसम हजुरको’ लगायत तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । नेपाली फिल्मका ‘गुड लुकिङ’ हिरोमा गनिने उनी केही वर्षयता फिल्मबाट मात्र नभइ सामाजिक सञ्जालबाट पनि टाढा छन् । दर्शकले उनलाई सोध्न चाहेका छन्, ‘किन चटक्कै माया मारेको नायकज्यू ?’



