
काठमाडौँ । आज कार्तिक १८ गते सोमबार देशका प्रमुख दैनिक पत्रिकाहरुले लेखेका सम्पादकीयको सारंश यहाँ प्रस्तुत गरिएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकले ‘बहाना सकिए, अब काम’ भन्ने शीर्षकमा सम्पादकीय लेख्दै काम टार्नका लागि बहाना बनाउन सघाउने तीनवटै चाड सकिएको भन्दै अब बेला काम गरेर देखाउने आएको बताएको छ । ‘छठ सकिएसँगै पर्वमय समय नियमित कर्मतर्फ फर्किएको छ । त्यसलाई अन्य कुनै बहानाबाजीले अड्काउनु हुँदैन,’ सम्पादकीयमा भनिएको छ ।
‘कम घाटाको दिगोपना’ शीर्षकमा सम्पादकीय लेख्दै कान्तिपुर दैनिकले भनेको छ, ‘व्यापार घाटा पनि कम गरिरहने र राजस्व संकलन पनि बढाइरहने उपाय भनेको निर्यात प्रबद्र्धन, औद्योगिक उत्पादनलाई बढवा, अनौपचारिक अर्थतन्त्रमाथि थप कढाइ गर्नु नै हो । मुख्य गरी उद्योगधन्दाको विस्तार, त्यसमा पनि कम लागतमा सामग्रीहरुको उत्पादन र नेपालबाट निर्यात हुने सामग्रीहरुलाई विश्वबजारमा प्रतिस्पर्धी योग्य बनाउनुपर्यो ।’
नागरिक दैनिकले जाडो मौसममा डेंगीको संक्रमण हुने क्रम अन्त्य भइसक्नुपर्नेमा काठमाडौँमा अहिलेसम्मै यसका बिरामी पाइएपछि चिकित्सक नै आश्चर्यमा परेको बताउँदै ‘अझै डेंगीको डर’ भन्ने सम्पादकीय लेखेको छ ।
नारायणहिटी संग्राहलयभित्र रहेको लमजुङ कक्ष भाडामा दिने सरकारले तयारी गरेको समाचार सार्वजनिक भएकोमा नेपाल समाचार पत्रले ऐतिहासिक स्थानको संरक्षण गरेर राज्यले त्यसलाई विश्वसामु चिनाउनुपर्नेमा निजी क्षेत्रलाई भाडामा दिने सोच बनाउन पक्कै राम्रो विषय नभएको भन्दै लखेको छ, ‘लमजुङ कक्ष’ भाडामा नदेऊ !
यता, गोरखापत्र दैनिकले राजनीतिक स्थिरतासँगै नेपालले चौतर्फी दिशामा प्रगति हासिल गर्दै गएको भन्दै ‘चौतर्फी प्रगतिको सन्देश’ गएको सम्पादकीय प्रकाशित गरेको छ । ‘आर्थिक सूचकाङ्कमा मात्र बढोत्तरी भएको छैन, शासकीय सुधार र नेपालले ती क्षेत्रमा गरेका पहल पनि उपलब्धिमूलक देखिएका छन्,’



