स्वास्थ्य

स्टेप्स सर्भे : २९ प्रतिशत नेपाली चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्छन् (कुन प्रदेशमा कति?)

महिलाको तुलनमा ५ गुणा बढी पुरुष अम्मली, विद्युतीय चुरोट प्रयोग गर्ने १.७ प्रतिशत

काठमाडौं – नेपालका २८ दशमलव ९ प्रतिशत नागरिकले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको एक सर्भेक्षणले देखाएको छ।

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्भेक्षण (स्टेप्स सर्भे)ले उक्त तथ्यांक देखाएको हो।

सर्भेक्षणले महिलाको तुलनामा पुरुषहरु ५ गुणाभन्दा बढी अम्मली रहेको देखाएको छ। सर्भेक्षण अनुसार नेपालका ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्छन्।

सर्भेक्षण देशभरका १५ देखि ६९ वर्ष उमेरका ५ हजार ५ सय ९३ जनसंख्यामा गरिएको थियो। यस्तो सर्भे हरेक ५ वर्षको अन्तरालमा गरिन्छ। सर्भेक्षण गत फेब्रुअरीदेखि मे सम्म गरिएको थियो।

सर्भेक्षण अनुसार चुरोट र सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या सबैभन्दा बढी प्रदेश ५ मा रहेको छ। प्रदेश ५ का ३६ दशमलव ६ प्रतिशतले चुरोट तथा सुर्ति सेवन गर्ने गरेका छन्।

चुरोटको तुलनामा धुँवारहित अन्य सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या बढी रहेको सर्भेक्षणले देखाएको छ। चुरोट सेवन गर्ने १४ दशमलव ५ प्रतिशत रहेका छन् भने धुँवारहित सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या  १८ दशमलव ३ प्रतिशत रहेको छ।

चरोट तथा सुर्तिजन्य पदार्थ मुटु, मधुमेह, रक्तचाप, क्यान्सर जस्ता नसर्ने रोगको प्रमुख कारण हो। चिकित्सिकले दीर्घकालिन रोगका प्रमुख कारण भएकाले यस्ता पदार्थ सेवन नगर्न सुझाब दिने गरेका छन्।

विद्युतीय चुरोट प्रयोग गर्ने बढे
सर्भेक्षण अनुसार नेपालमा विद्युतीय चुरोट प्रयोग गर्नेको संख्या बढेको छ। विगतमा यस्ता चुरोट प्रयोग गर्नेको संख्या नगन्य हुन्थ्यो। तर, अहिले सर्भेक्षणले झण्डै २ प्रतिशत पुरुषले विद्युतीय चुरोट प्रयोग गर्ने गरेको देखाएको छ। सर्भेक्षण अनुसार १ दशमलव ७ प्रतिशत पुरुषले विद्युतीय चुरोट प्रयोग गर्ने गरेका छन्। भारत, चीन तथा धेरै देशले विद्युतीय चुरोट प्रतिबन्ध लगाइसकेका छन्। नेपालले पनि सन् २०१४ मा यस्ता चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ। तर, उक्त निर्णय भने अझैसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन।

कुन प्रदेशमा कति?
प्रदेश १ – २२ दशमलव ८ प्रतिशत
प्रदेश २ – २९ दशमलव ७ प्रतिशत
प्रदेश ३ – २२ दशमलव २ प्रतिशत
गण्डकी प्रदेश – २५ दशमलव ९ प्रतिशत
प्रदेश ५ – ३६ दशमलव ६ प्रतिशत
कर्णाली प्रदेश – २९ दशमलव ७ प्रतिशत
सुदूरपश्चिम प्रदेश – ३३ दशमलव ८ प्रतिशत

 

 


स्वास्थ्य खबरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button