खेलकुद

एपीएफलाई चन्द्रागिरी गोल्डकपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले तेस्रो चन्द्रागिरी गोल्डकपको उपाधि जितेको छ ।

नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा भएको खेलमा एपीएफले टाइब्रेकरमा ५-४ को जित दर्ता गरेको हो । निर्धारित समयको खेल १-१ को बराबरी र थप गरिएको समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा एपीएफका गोलरक्षक अमृत चौधरीले विपक्षी कप्तान जुमानु राईको प्रहार बचाएका थिए ।

पुलिसका लागि सुमन लामा, अजित भण्डारी, हेम तामाङ र भोल सिलवालले गोल गर्दा जुमानुले लिएको तेस्रो प्रहार चुकेको थियो । यता एपीएफका लागि सुदीप सिख्राकार, आशिष लामा, नविन लामा, बुद्धिमान राई र रामकुमार कुमाल सफल भएका थिए ।

खेलको सातौं मिनेटमा एपीएफले प्रविन स्याङतानको गोलमा अग्रता लिएको थियो । आशीष लामाले प्रहार गरेको फ्रिकिकलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बताएपनि रिबाउन्डमा प्रविनले गोल गरे ।

पहिलो हाफको तीन मिनेट समय बाँकी रहँदा पुलिसले खेल बराबरीमा ल्यायो । निरकुमार राईले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा दर्शनीय गोल गर्दै पुलिसलाई खेलमा फर्काए ।

विजेताले ६ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा दोस्राले ३ लाख ५० हजार रुपैयाँ हात पार्यो । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button